कास्की : पोखरा र तनहुँमा चोरी तथा डाँका गरेका ५ जना व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ। कास्की जिल्ला प्रहरी कार्यालयको टोलीले पोखरा महानगरपालिका वडा नम्बर २६, ३०, ३१ र ३२ लगायतका क्षेत्रहरूमा भएका चोरी घटनाको अनुसन्धान गर्दै उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा तनहुँ शुक्लागण्डकी नगरपालिका-१० निवासी सुवास विक (उमेर २६, उपनाम कट्टप्पा), उनका आफन्त बिमल विक (२३), मामा दुर्गा बहादुर थापा (५३), फुपुका छोराहरू गणेश सुनार (२२) र सुरेश विक (३३) रहेका छन्। उनीहरू पोखरा र तनहुँमा भएका चोरी घटनामा संगठित रुपमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।
प्रहरीले उनीहरूको साथबाट १२ तोला ८ लाल बराबरको सुनका गहना, २४ तोला बराबरको चाँदीका गहना, चोरीमा प्रयोग गरिएको मोटरसाइकल (ग.२२ प ४९८९) र स्कुटर (ग.२१ प ६७५३) बरामद गरेको छ। प्रारम्भिक अनुसन्धान अनुसार, उनीहरूले पोखराका ९ स्थान र तनहुँका ३ स्थान गरी १२ वटा घरमा चोरी गरेका थिए।
पक्राउ परेकाहरूविरुद्ध चोरी तथा डाँका सम्बन्धी कसूरमा जिल्ला अदालत कास्कीबाट म्याद थप अनुमति लिई अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।
प्रतिक्रिया