लमजुङमा तरुण दलको जिल्ला अधिवेशन हिंसात्मक, खुकुरी प्रहारमा चार जना घाइते

शनिबार, ०३ जेठ २०८२

लमजुङ : लमजुङको बेसीसहरमा शनिबार सुरु भएको नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलको पाँचौँ जिल्ला अधिवेशन खुकुरी प्रहारसहितको हिंसात्मक घटनामा परिणत भएको छ।

अधिवेशनको उद्घाटन सत्रका क्रममा दुई पक्षबीच विवाद चुलिएपछि बाहिरबाट आएका एक समूहले कार्यक्रम बिथोल्दै खुकुरी प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन्।

खुकुरी प्रहारबाट चार जना घाइते भएका छन्। तीमध्ये बेसीसहर–९ का वडाध्यक्ष तथा तरुण दल क्षेत्रीय सभापति खुसीजंग गुरुङ र नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सुदीप अधिकारी गम्भीर घाइते भएका छन्।

दुबैजनाको टाउकोमा चोट लागेकाले थप उपचारका लागि चितवन रिफर गरिएको छ। बाँकी घाइते नेपाली कांग्रेसका जिल्ला सदस्य किशोरजंग बस्नेत र तरुण दल सदस्य शंकर सापकोटाको लमजुङ जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

विवादको मूल कारण अधिवेशनमा प्रतिनिधि छनोटमा देखिएको असहमति रहेको प्रारम्भिक बुझाइ छ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी रेशम बोहोराका अनुसार घटनाबारे अनुसन्धान अघि बढाइएको छ। यस घटनाले कांग्रेसभित्रको आन्तरिक व्यवस्थापन र अनुशासनबारे गम्भीर प्रश्न खडा गरेको छ। 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार