धुलिखेलमा करेन्ट लागेर मृत्यु भएका उज्ज्वल परियारको परिवारलाई गाउँलेको सहयोग, छानो हाली दिए

आइतबार, ०४ जेठ २०८२

सर्लाही : धुलिखेलमा करेन्ट लागेर शनिबार ज्यान गुमाएका सर्लाही ईश्वरपुर नगरपालिका–१२, घारीबथानका उज्ज्वल (उपेश) परियारको परिवारलाई गाउँलेहरूले सहयोगस्वरूप घरमा छानो हाली दिएका छन्। यही जेठ १ गते हावाहुरीले उज्ज्वलको घरको छानो उडाएको थियो। घटनाको दुई दिनपछि उज्ज्वलको मृत्यु भएको हो।

उज्ज्वलको मृत्युपछि उनका बुवा केशव दमाई, श्रीमती सुशीला परियार र पाँच वर्षीय छोरा शिशिर शव बुझ्न काभ्रे पुगेका थिए। घरमा दृष्टिविहीन आमा विष्णु दमाई र आठ वर्षीया छोरी उर्मिला मात्रै थिए। काजकिरिया बस्ने ठाउँसमेत नभएकाले छिमेकी र आफन्त मिलेर घरमा छानो हालिएको हो।

छिमेकी फडिन्द्र पौडेलका अनुसार उज्ज्वलकै कमाइमा परिवार चल्थ्यो। उनी प्रमुख सहारा थिए। उज्ज्वलको मृत्युपछि परिवार पूर्ण रूपमा असहाय बनेको छ। आफन्त भैरव परियारले पनि आम्दानीको स्रोत गुमेपछि परिवार बिचल्लीमा परेको बताएका छन्।

परिवारका अनुसार उज्ज्वल केही समयदेखि धुलिखेल क्षेत्रमा विस्तार भइरहेको हाइटेन्सन लाइनमा मजदुरी गर्दै आएका थिए। शनिबार काभ्रे जिल्ला प्रशासन कार्यालयअगाडिको पोलमा काम गर्दै गर्दा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो।

ईश्वरपुर नगरपालिकाका प्रमुख मनोजकुमार आचार्यले उज्ज्वलको शव घर ल्याउने प्रक्रिया र राहतका लागि काभ्रे प्रशासन र जनप्रतिनिधिसँग समन्वय भइरहेको जानकारी दिए। नगरपालिकाले घर निर्माण र अन्य सहयोगबारे कार्यपालिका बैठकमा छलफल गर्ने तयारी गरिरहेको छ।

प्रतिक्रिया

रासस
लेखकको बारेमा
रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।

सम्बन्धित समाचार