‘पहिचानविहीन संविधान सच्याउनुपर्छ’ : राजेन्द्र महतो

मंगलबार, १७ भदौ २०८२

काठमाडौं  : २०७२ सालमा सार्वजनिक भएको मुलुकको संविधानमा त्रुटिको चाङ रहेको राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले बताएका छन् ।

विराटनगरमा मंगलबार आयोजित पत्रकार सम्मेलनका क्रममा अध्यक्ष महतोले त्रुटिपूर्ण रहेको संविधान सच्याउनका लागि पटकपटक सरकारलाई आग्रह गरिएको बताए । पहिचान र अधिकार विहीनहरुको पक्षमा संविधान नरहेको बताउँदै महतोले संघीय राजधानी केन्द्रीत आन्दोलनको तयारीमा मधेशी राजनीतिक दल रहेको प्रस्टाए ।

उनका अनुसार मधेशवादी दल, आदिवासी जनजातिले संयुक्त रुपमा आफ्नो हकअधिकारको लडाईका क्रममा आन्दोलनलाई अघि बढाउने भएको हो । पत्रकार सम्मेलनमा अध्यक्ष महतोले पहिचान तथा अधिकार विहीन संघीयतालाई फाल्ने गरी आन्दोलनको कार्यक्रम घोषणा हुने जानकारी दिए। उनले भने, ‘अमेरिका भारतमा बनेको संविधान समयसापेक्ष संशोधन भए ।

अधिकारविहीनलाई अधिकार दिए । तर हाम्रो संविधान अझैपनि उत्पीडित वर्ग, आदिवासी जनजाति, मधेशीको मुद्धामा आवाजविहीन रहेको छ । मुलुकका थारु, मुस्लिमसहित सीमान्त वर्ग अझैपनि अधिकारविहीन अवस्थामा छन् । मुलुकलाई वन नेशन वन थ्योरीको आधारमा शासन भइरहेको हुँदा अब ती शासकविरुद्ध आन्दोलन हुनेछ।’

विभिन्न ६ वटा मधेशी राजनैतिक दलको संघीय लोकतान्त्रिक मोर्चाले आन्दोलनको तयारीका क्रममा जागरण अभियान गर्दै जनतासंग राय सुझाव समेत संकलन गरिरहेको उनले बताए । महतो सोमबार विराटनगरमा आयोजित मोर्चाको कार्यक्रममा सहभागि हुन विराटनगर आएका हुन् । उनका अनुसार मोर्चाले अब सप्तरीको राजविराज र जनकपुरमा जागरण अभियानलाई अघि बढाउनेछ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार