विराटनगर : कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङ्गाम र मन्त्रालयका प्रदेश सचिव डा.शरणकुमार पाण्डेबिच लामो समयदेखि चल्दै आएको तिक्तता सतहमा आएको छ । मन्त्री हाङ्गामको निर्देशनमा सचिव पाण्डे प्रयोग गर्दै आएको सरकारी गाडीको चाबी चालकबाट खोसिएको घटनाले प्रदेश राजनीतिसँगै कर्मचारी वृत्तमा पनि ठूलो तरङ्ग ल्याएको हो ।
मन्त्रीले सचिवको चाबी खोसेको आरोप लागेपछि मन्त्री पक्षले पाण्डेमाथि राजनीतिक दबाबमा सरुवा बदर गर्ने, गुटबन्दी गर्ने र मन्त्रालयका काम–काज अवरुद्ध गर्ने उल्टै आरोप लगाएको छ । सचिवका कारण किसानका लागि ल्याइएका व्याज अनुदान कार्यक्रम, बजेट खर्च र ‘खोरेत रोगमुक्त अभियान’ समेत प्रभावित भएको मन्त्री पक्षले बताएको छ ।
सचिव पाण्डे वाग्मती र मधेश प्रदेशमा रहँदा पनि विभिन्न विवादमा परेका थिए । कुनै पनि मन्त्रालयमा उनको कार्यकाल एक वर्ष पनि पूरा भएको छैन । गत वर्ष कार्तिकमा उद्योग, कृषि तथा सहकारी मन्त्रालयमा सरुवा भएसँगै मन्त्रीको निर्देशन नमान्ने, कर्मचारीबिच गुटबन्दी गर्ने र राजनीतिक आवरणमा सरुवा बदर गर्ने जस्ता गतिविधि देखाएको मन्त्रालयका स्रोतको आरोप छ ।
सचिव पाण्डेले प्रयोग गर्दै आएको गाडी सोमबार मन्त्री हाङ्गामकै आदेशमा रोकिएको छ। मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा सरुवा भइसकेका सचिव पाण्डे अझै उद्योग, कृषि तथा सहकारी मन्त्रालयकै गाडी प्रयोग गरिरहेको भन्दै चाबी खोसिएको स्रोतले जनाएको छ।
मन्त्रालयका कर्मचारीका अनुसार सचिव र मन्त्रीबिचको विवादले नियमित कामकाज अवरुद्ध भएको छ । किसानलाई दिनुपर्ने सुविधा, बजेट खर्च र नयाँ कार्यक्रम कार्यान्वयनमा समेत ढिलाइ भएको उनीहरूको भनाइ छ ।
मन्त्री हाङ्गामले सचिव पाण्डेसँग कुनै हालतमा काम गर्न नसक्ने स्पष्ट अडान राखेका छन् ।
“एक पटक सरुवा भएको कर्मचारी फेरि सरुवा बदर गरेर आउँछ भने म त्यस्तो सचिवसँग बसेर काम गर्न सक्दिन।”
मन्त्री हाङ्गामले भनेका छन् ।
सचिव पाण्डे गत भाद्र २८ गते नै संघमा सरुवा भएका थिए । संघको कृषि मन्त्रालयमा सरुवा भए पनि भाद्र १३ गते कोशी प्रदेशमै सरुवा भएका थिए ।
मन्त्री हांगामका अनुसार सरुवा भएका सचिवको मन्त्रीपरिषद्को बैठकले मात्रै मन्त्रालय पठाउने भएपनि उनले अझैं पनि उद्योग, कृषि तथा सहकारी मन्त्रालयकै गाडि प्रयोग गरेका थिए ।
प्रतिक्रिया