काठमाडौं : काठमाडौंमा एक वृद्धको घरमा ठूलो मात्रामा नगदसहित सुनका गरगहना बरामद भएको छ । प्रहरीले उनलाई मिटरब्याजी गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ गरेको हो ।
उपत्यका प्रहरी कार्यालय रानिपोखरी र जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले काठमाडौं महानगरपालिका–२६ गोंगबुस्थित आफ्नै घरबाट ७७ वर्षीय विनोदकुमार श्रेष्ठलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार श्रेष्ठले सुनका गरगहना धितो राखेर मिटरब्याजमा पैसा लगानी गर्ने गर्थे । उपत्यका प्रहरी कार्यालयका एसएसपी तथा प्रवक्ता शेखर खनालले भने,“प्रारम्भिक अनुसन्धानमा उनी मिटरब्याजी भएको देखिन्छ । उनले अनुचित लेनदेन गरेका थिए ।”
श्रेष्ठको घरमा छापा मार्दा करिब ३ करोड ७५ लाख रुपैयाँ नगद बरामद भएको छ । प्रहरीका अनुसार थप नगद र सुनका गरगहना पनि भेटिएका छन् तर सुनको तौल र मूल्याङ्कन अझै हुन बाँकी छ ।
ठूलो मात्रामा अवैध रकम लुकाएर राखेको भन्ने सूचनाका आधारमा प्रहरीको टोलीले छापा मारेको हो । पक्राउ परेका श्रेष्ठको गोरखामा पनि घर रहेको पाइएको छ ।
प्रतिक्रिया