विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले प्रस्तुत गरेको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम बजेटको पोको हैन, विकासको स्पष्ट मार्गदर्शन हो भन्ने सन्देश दिन आएको बताएका छन्।
प्रदेश सभामा आइतबार नीति तथा कार्यक्रम माथि छलफल गर्दै मुख्यमन्त्री कार्कीले यो दस्तावेज छोटो, छरितो र समावेशी भएको उल्लेख गरे। उनले नीति तथा कार्यक्रमले सहअस्तित्व, सहकार्य र एकताको सन्देश दिएको तथा आर्थिक उन्नति र आन्तरिक आय वृद्धिमा केन्द्रित रहेको दाबी गरे।
“नीति तथा कार्यक्रम विकासको मार्गदर्शन हो भने बजेट त्यसैको कार्यान्वयनका लागि साधन हो,” मुख्यमन्त्री कार्कीले भने, “पछिल्ला आठ वर्षमा आठ वटा नीति तथा कार्यक्रम आइसकेका छन्। अब आवश्यक छ तिनीहरूको निरन्तरता र स्थायित्व।”
मुख्यमन्त्री कार्कीका अनुसार यसपटकको नीति तथा कार्यक्रममा दोस्रो आवधिक योजना तथा प्रदेश सरकारका दीर्घकालीन योजनाहरूको समेत स्पष्ट समावेश गरिएको छ।
उनले नेपाली कांग्रेस र नेकपा एमालेबीचको सात बुँदे समझदारीपछि बनेको सरकार प्रदेशका सात वटा मूलभूत समस्याको समाधानमा केन्द्रित रहेको बताए। उनले पछिल्ला १० महिनामा बिग्रिएको आर्थिक अवस्थालाई सुधार गरेर निर्यात प्रवर्द्धनजस्ता क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरिएको उल्लेख गरे।
“३ बुँदे मर्ममा आधारित ७ बुँदे सहमति पछिल्लो समय अत्यन्त प्रभावकारी सावित भएको छ,” उनले भने, “यो सरकार समस्याहरूको समाधान गर्दै स्थायित्व र समृद्धिको बाटोमा अघि बढिरहेको छ।”
मुख्यमन्त्री कार्कीले विकासका राम्रा योजनाप्रति सकारात्मक समर्थन जनाउनु कुनै व्यक्ति, संस्था वा दलको सरकारमा जाने चाहनासँग सम्बन्धित नहुने भन्दै यस्तो अभ्यास स्वाभाविक लोकतान्त्रिक प्रक्रिया भएको बताए।
यस्तै, नीति कार्यक्रममा समावेश राष्ट्रिय विभूति, पूर्व राष्ट्राध्यक्ष र जनआन्दोलनका सहिदहरूको घर संरक्षण गरेर तिनलाई प्रदेश सरकारको मातहत ल्याउने प्रस्तावको समेत बचाव गर्दै उनले इतिहासको संरक्षण भावी पुस्तालाई जानकारी दिन आवश्यक रहेको तर्क राखे।
मुख्यमन्त्री कार्कीका अनुसार अहिलेको नीति कार्यक्रम केवल सामान्य कार्यक्रम होइन, यो प्रदेश विकासको रणनीतिक दस्तावेज हो, जसले नीति, कार्यान्वयन र उपलब्धिबीच स्पष्ट सम्बन्ध स्थापित गरेको छ।
प्रतिक्रिया