इलाम : इलामको माइजोगमाई गाउँपालिकामा हालै सम्पन्न भएका तीनवटा फुटबल प्रतियोगिताको आय–व्यय विवरण सार्वजनिक गरिएको छ। माइजोगमाई खेलकुद विकास परिषदको आयोजनामा सम्पन्न अध्यक्ष कप (पालिकास्तरीय), वडास्तरीय पुरुष तथा महिला फुटबल प्रतियोगिताको आर्थिक विवरण सार्वजनिक गरिएको हो।
परिषद्का अनुसार तेस्रो अध्यक्ष कप अन्तरपालिका फुटबल प्रतियोगिताबाट गाउँपालिकाबाट १५ लाख रुपैयाँको आम्दानी भएको थियो। सो प्रतियोगितामा नगद पुरस्कार, यातायात, होटल, खेल सामग्री, ज्यालादारीलगायत १८ शीर्षकमा कुल १५ लाख १६ हजार रुपैयाँ खर्च भएको छ।
त्यस्तै, वडास्तरीय पुरुष फुटबल प्रतियोगिताका लागि पालिकाबाट छ लाख रुपैयाँ विनियोजन गरिएकोमा १६ शीर्षकमा ६ लाख ४६ हजार रुपैयाँ खर्च भएको जनाइएको छ।
वडास्तरीय महिला तथा मैत्रीपूर्ण फुटबल प्रतियोगितामा पालिकाबाट चार लाख रुपैयाँको आम्दानी भएको थियो। १८ शीर्षकमा चार लाख पाँच सय रुपैयाँ खर्च भएको परिषदले जानकारी गराएको छ।
कार्यक्रमअनुसार, वैशाख १६ देखि १८ सम्म वडास्तरीय पुरुष तथा महिला फुटबल प्रतियोगिता सञ्चालन भएको थियो भने वैशाख २३ देखि ३१ गतेसम्म तेस्रो माइजोगमाई अध्यक्ष कप अन्तरपालिका फुटबल प्रतियोगिता सञ्चालन गरिएको थियो।
माइजोगमाई खेलकुद विकास परिषदले पारदर्शिताको आधारमा सबै प्रतियोगिताको वित्तीय विवरण सार्वजनिक गरेको जनाएको छ। सार्वजनिक गरिएको विवरण अनुसार कार्यक्रमहरू कुल ६२ हजार ५ सय रुपैयाँ घाटामा देखिएको छ ।
प्रतिक्रिया