इटहरी ः नेपाल प्रेस युनियन सुनसरीले आफ्नो ३३ औँ स्थापना दिवसको अवसरमा मङ्गलवार इटहरीमा प्रभात फेरी कार्यक्रम आयोजना गरेको छ।
इटहरी उपमहानगरपालिका कार्यालयअगाडि बाट सुरु भएको प्रभात फेरी र्यालीले चोकको परिक्रमा गर्दै कोण सभामा परिणत भएको थियो। कार्यक्रममा पत्रकार तथा सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कोणसभामा बोल्दै नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय उपाध्यक्ष तथा अग्रज पत्रकार हर्ष सुब्बाले स्वरोजगार मुखी मिडिया हाउसहरूलाई सुदृढ बनाउँदै लैजानुपर्नेमा जोड दिए। उनले सञ्चारकर्मीहरूलाई आत्मनिर्भर बनाउने खालका संरचनागत पहल आवश्यक रहेको बताए।
त्यसैगरी, प्रेस चौतारी कोशी प्रदेश अध्यक्ष सुमन पुरीले सङ्गठनहरूबिच विचार फरक भए पनि लक्ष एउटै रहेको उल्लेख गर्दै सबै सञ्चारकर्मीले चुनौतीहरूको डटेर सामना गर्दै अगाडि बढ्नुपर्ने धारणा राखे।
कार्यक्रममा प्रेस युनियन कोशी प्रदेश सचिव विनय बाह्राकोटी, प्रेस सेन्टर सुनसरीका अध्यक्ष तिर्थ कार्की लगायतले स्थापना दिवसको अवसरमा शुभकामना मन्तव्य राखेका थिए।
स्थापना दिवसको अवसरमा सञ्चारकर्मीबीच एकता, सङ्गठनात्मक सुदृढीकरण र व्यावसायिक सुरक्षाका विषयमा समेत छलफल भएको थियो।
प्रतिक्रिया