झापामा खैरो हेरोइन कारोबारीलाई गोली हानी पक्राउ, ‘सप्लाइ चेन’ भत्काउने प्रहरी अभियान तीव्र

शनिबार, १० साउन २०८२

झापा : लागूऔषध नियन्त्रण ब्युरोले झापामा लागूऔषध ‘सप्लाइ चेन’ भत्काउने क्रममा एक भारतीय कारोबारीलाई गोली हानी नियन्त्रणमा लिएको छ।

झापा भद्रपुर नगरपालिका–५ स्थित भित्री सडक खण्डमा शङ्कास्पद रूपमा हिँडिरहेका एक व्यक्तिलाई पक्राउ गर्न खोज्दा उनले प्रहरीमाथि आक्रमण गरी भाग्न खोजेपछि प्रहरीले गोली चलाएको हो।

प्रहरीका अनुसार दुई राउन्ड गोली चलाइएकोमा एक राउन्ड गोली भारतको किसनगञ्ज जिल्लास्थित कोल्लिकोट थानाका ३६ वर्षीय महमद इस्लामको बायाँ खुट्टाको घुँडामुनि लागेको छ।

गोली लागेर घाइते भएका इस्लामलाई प्रहरीले तत्काल नियन्त्रणमा लिएर भद्रपुरस्थित प्रादेशिक अस्पतालमा उपचार गराइरहेको जनाएको छ। पक्राउ परेका इस्लामको साथबाट करिब १२० ग्राम खैरो हेरोइन बरामद भएको छ।

जिल्ला प्रहरी कार्यलय झापाका प्रहरी निरीक्षक विजय चौहानको कमाण्डमा गएको प्रहरी र लागुऔषध नियन्त्रण ब्युरो काकडभिटाको टोलीसँग संयुक्त रूपमा अपरेशन चलाएको जिल्ला प्रहरी कार्यलय झापाका प्रहरी प्रमुख एसपी राजन लिम्बुले बताए ।

केही दिनअघि मात्र ब्युरोले भारतमा बसेर नेपालमा लागूऔषध पठाउँदै आएका ठुला गिरोहका सदस्यलाई नेपाल बोलाएर नियन्त्रणमा लिएको थियो। यसअघिका कारबाहीमा समेत ब्युरोले ठुलो परिमाणमा लागूऔषधसहित भारतीय नागरिक पक्राउ गरिसकेको छ।

प्रहरीले इस्लामविरुद्ध थप अनुसन्धान जारी रहेको जनाएको छ। लागूऔषध विरुद्धको यो अभियानमा अब साना कारोबारीमार्फत ठुला ‘सप्लायर’ फन्दामा पार्ने रणनीति अपनाइएको लागूऔषध नियन्त्रण ब्युरोले जनाएको छ।

 ब्युरोका प्रमुख एसएसपी कृष्णप्रसाद कोइरालाका अनुसार हाल देशभर लागूऔषध भित्र्याउने मुख्य गिरोहमाथि केन्द्रित भएर कडा कारबाही चलिरहेको छ।

 “स्थानीय प्रहरीसँग सहकार्य गर्दै देशभरका स्टालाइट स्टेसनमार्फत भारतबाट लागूऔषध भित्र्याउने ठुला कारोबारीलाई नै टार्गेट गरी पक्राउ अभियान चलिरहेका छन्,” उनले भने।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार