नेपालगन्ज : नेपालगन्जमा ‘लिभिङ टुगेदर’ मा बसेकी एक २२ वर्षीया युवतीको आफ्नै प्रेमीले हत्या गरेका छन्। तीन वर्षदेखि सँगै बस्दै आएका बर्दियाका ३५ वर्षीय प्रकाश सुनारले युवती निर्मला थापालाई घाँटीमा सलले बेरेर हत्या गरेको खुलासा भएको छ।
दैलेख घर भएकी निर्मला नेपालगन्जको बीपी चोकस्थित सुनाखरी रेस्टुरेन्टमा वेट्रेसको रूपमा काम गर्थिन्। हत्या आरोपित सुनार भने नेपालगन्जकै स्वस्तिक कटेजमा ‘क्याप्टेन’ को रूपमा कार्यरत थिए।
बुधवार बिहान निर्मलाको घाँटी थिची हत्या गरी शवलाई कोठामा थुनेर फरार भएका प्रकाशले एक दिनपछि मृतकको बहिनीलाई फोन गरी हत्या गरेको खबर दिएका थिए। त्यसपछि आज बिहान २ बजे आफैँ प्रहरीलाई फोन गर्दै आत्मसमर्पण गर्ने जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी दीपक पतालीका अनुसार, प्रहरी कार्यालय आउँदै गरेका प्रकाशलाई धम्बोझीको जुम्लीटोलबाट पक्राउ गरिएको हो। प्रहरीका अनुसार उनले आत्मसमर्पण गर्नु अघि आफन्त तथा साथीभाइसँग ‘अब भेट्न पाइँदैन’ भन्दै अन्तिम भेटघाट गरेका थिए।
प्रकाशकै सूचनाका आधारमा प्रहरी टोली कोठामा पुग्दा निर्मलाको दुई दिन पुरानो शव फेला परेको थियो। निर्मलाको परिवार नेपालगन्ज आएपछि शवको पोस्टमार्टम गरिएको छ।
प्रकाश सुनार विवाहित थिए। बर्दियामा उनकी श्रीमती र दुई सन्तान (एक छोरा र एक छोरी) छन्। उनी परिवारका सदस्यहरूको जानकारीमा रहेर पनि निर्मलासँग ‘लिभिङ टुगेदर’मा बसेको खुलेको छ। तर, दुबैबिच वैवाहिक सम्बन्ध कानुनी रूपमा दर्ता भएको नखुलेको डीएसपी पतालीले जानकारी दिए।
प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान गरिरहेको छ भने प्रकाशमाथि ‘कसुरपूर्वक हत्या’ सम्बन्धी मुद्दा दर्ता गरिएको छ।
प्रतिक्रिया