१०० वर्ष पुरानो शिव मन्दिर विवाद : थाइल्यान्ड–कम्बोडिया भिडन्त, ६२ जनाको ज्यान गयो

शनिबार, १० साउन २०८२

बैंकक : थाइल्यान्ड र कम्बोडियाबीचको पुरानो सीमा विवाद फेरि हिंसात्मक रूपमा भड्किएको छ। दुई देशबिचको केन्द्रबिन्दुमा रहेको ११०० वर्ष पुरानो शिव मन्दिर ‘प्रेह विहेर’ (Preah Vihear) लाई लिएर दशकीय तनाव पछिल्लो दिनमा पुनः चुलिएको छ, जसले हालसम्म ६२ जनाको ज्यान लिइसकेको छ।

हालै थाइल्यान्डले कम्बोडियाको सैन्य अखडामा हवाई हमला गरेको पुष्टि भएको छ। बिहीबार दुवै देशका सेनाबिच सीमा क्षेत्रमा भीषण गोली हानाहान भएको थियो। कम्बोडियाको आरोप अनुसार थाई सेनाले पहिले हमला सुरु गरेको हो भने, थाइल्यान्डले उल्टै कम्बोडियाले ड्रोन तैनाथ गरेपछि आफूले जवाफी कारबाही गरेको दाबी गरेको छ।

राजनीतिक चपेटामा मन्दिर विवाद

यो मन्दिर विवादको ऐतिहासिक पृष्ठभूमि झन् गहिरो छ। ९ औँ शताब्दीमा खमेर सम्राट् सूर्यवर्मनले बनाएको यो मन्दिर धार्मिक आस्थाको केन्द्र मात्र नभएर दुई देशबिचको राष्ट्रिय स्वाभिमानको मुद्दा पनि बनेको छ। हालै सन् २०२५ को जुलाईमा थाइल्यान्डका प्रधानमन्त्री पैतोंगटार्न सिनावात्रा अदालतबाट निलम्बनमा परेपछि राजनीतिक अस्थिरता चर्किएको थियो। एक फोन कलमा कम्बोडियाली नेतालाई ‘काका’ भनेको प्रसङ्ग बाहिरिएपछि उनी राष्ट्रियता विरोधी भएको भन्दै अपदस्थ गरिएका थिए।

इतिहासले दोहोर्‍याएको तनाव

मन्दिरको स्वामित्व विवाद सन् १९०४ देखि सुरु भएको हो। १९०७ मा फ्रान्सेली उपनिवेशकालीन नक्सामा मन्दिर कम्बोडियाको भूभागमा देखाइएको थियो। थाइल्यान्डले १९३० मा यसबारे आपत्ति जनायो तर अन्तर्राष्ट्रिय न्यायालयले सन् १९६२ मा मन्दिर कम्बोडियाकै भएको ठहर गर्‍यो। यद्यपि, थाई पक्षले उक्त निर्णय पूरै स्वीकार गरेको छैन।

२००८ मा युनेस्कोले मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरेपछि द्वन्द्व झनै चर्कियो। २००८ देखि २०११ सम्म पटक–पटक झडप हुँदा ४२ जनाको ज्यान गएको थियो। अहिलेको हिंसा मे २०२५ मा सुरुआत भएको हो, जब कम्बोडियाली ड्रोन थाई क्षेत्रमा देखिएको दाबीसँगै झडप फेरि सुरु भयो। त्यसयता हवाई हमला, रकेट आक्रमण र भारी गोलाबारी भइरहेको छ।

हालको अवस्था र मानवीय क्षति

गत बिहीबार मात्रै कम्बोडियाली सैनिकको गोलीबाट थाइल्यान्डका १४ जना मारिएका छन् – जसमा १ सैनिक र १३ सर्वसाधारण थिए। १० भन्दा बढी घाइते भएका छन्। कुल मिलाएर पछिल्लो दुई महिनाको तनावमा ६२ जनाले ज्यान गुमाएका छन्।

राष्ट्रवाद र सैन्य प्रदर्शन

शिव मन्दिर विवाद धार्मिक आस्थाभन्दा बढी राष्ट्रवादी भावनाको अखाडा बनेको छ। दुई देशले विगतमा तीर्थयात्रीका लागि संयुक्त समझदारी गरेर तनाव न्यून पार्न खोजे पनि अहिलेको परिस्थितिमा सैन्य प्रदर्शन प्रमुख रणनीति बनेको देखिन्छ। फेब्रुअरी २०२५ मा कम्बोडियन सेनाले मन्दिर क्षेत्रमा राष्ट्रिय गान गाएर थाई सेनालाई चुनौती दिएको घटनाले यसमा झनै आगो हालिदिएको हो।

प्रतिक्रिया

NEWS KARKHANA
लेखकको बारेमा
NEWS KARKHANA
NEWS AGENCY

समाचार एजेन्सी हो ।

सम्बन्धित समाचार