वासिङ्टन : अमेरिकाले भारत, इरान, चीन, हङकङ, संयुक्त अरब इमिरेट्स (युएई), टर्की र अन्य क्षेत्रका ३२ संस्था तथा व्यक्तिहरूलाई प्रतिबन्ध लगाएको छ । अमेरिकी सरकारका अनुसार, यी व्यक्तिहरू र संस्थाहरू इरानको ब्यालिस्टिक मिसाइल र मानवरहित हवाई सवारी (यूएभी/ड्रोन) उत्पादनसँग सम्बन्धित आपूर्ति सञ्जालमा संलग्न छन् ।
अमेरिकी विदेश विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएअनुसार, प्रतिबन्ध लगाइएका मध्ये केहीले इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का लागि पनि काम गर्दै आएका छन् । आईआरजीसीलाई इरानको धार्मिक, राजनीतिक र आर्थिक प्रभाव सुदृढ पार्ने मुख्य शक्ति मानिन्छ, जसले देशभित्रका संकट र बाह्य दबाबबीच इरानको हितको रक्षा गर्दै आएको छ ।
विदेश विभागका अनुसार, यो कारबाही संयुक्त राष्ट्र संघ (यूएन) द्वारा गत सेप्टेम्बर २७ मा इरानमाथि पुनः लागू गरिएका प्रतिबन्धहरूको समर्थनस्वरूप गरिएको हो । इरानको आणविक कार्यक्रमसँग सम्बन्धित अन्तर्राष्ट्रिय सम्झौता पछि प्रतिबन्धहरू हटाइएका थिए, तर दश वर्षपछि यूएनले पुनः व्यापक आर्थिक र सैन्य प्रतिबन्धहरू लागू गरेको थियो ।
अमेरिकी अधिकारीहरूले प्रतिबन्धको उद्देश्य इरानको सैन्य क्षमतामा नियन्त्रण ल्याउने र अन्तर्राष्ट्रिय सुरक्षालाई सुदृढ पार्ने रहेको बताएका छन् ।
प्रतिक्रिया