हसिना मुद्दाको विरोधमा अवामी लिगद्वारा आह्वान गरिएको ‘लकडाउन’ ले बङ्गलादेश ठप्प

शुक्रबार, २८ कार्तिक २०८२

बहिष्कृत प्रधानमन्त्री शेख हसिना र पूर्व सत्तारूढ अवामी लिग पार्टीविरुद्ध दायर मानवता विरुद्धको अपराध सम्बन्धी मुद्दाको विरोधमा आह्वान गरिएको राष्ट्रव्यापी ‘लकडाउन’ का कारण बिहीबार बङ्गलादेशभर सामान्य जनजीवन ठप्प भएको छ।

गत वर्षको विद्यार्थी नेतृत्वको आन्दोलनमा भएको दमनबारे मुद्दा चलाइएका कारण हसिना भारतमा निर्वासनमा बस्दै आउनुभएको छ। ढाकास्थित विशेष न्यायाधिकरणले सोमबार फैसला सुनाउने तयारी गरिरहेको मुख्य अभियोजक ताजुल इस्लामले जानकारी दिएका छन्।

लकडाउनका क्रममा ढाका लगायत प्रमुख सहरमा सार्वजनिक यातायात करिब ठप्प रह्यो भने विद्यालयहरूले अनलाइन कक्षालाई वैकल्पिक विकल्पका रूपमा अपनाए। सडकमा सवारीसाधन न्यून, बजार सुनसान र सुरक्षा व्यवस्था कडा भएको रिपोर्ट गरिएको छ।

यसबीच गोपालगञ्जस्थित सरकारी भवनमा पेट्रोल बम फ्याँकिएको र ग्रामीण बैंकको एक कार्यालयमा आगजनी भएको घटनाको पुष्टि भएको छ। लगातार तीन दिनदेखि देशभर कच्चा बम तथा सवारीसाधनमा आगजनीका घटनाले राजनीतिक तनाव झन् चर्किएको देखिन्छ।

ढाका विश्वविद्यालय परिसरमा कच्चा बम विस्फोट, राजधानीमा रेल तथा बसमा आगजनी तथा सुरक्षाकर्मीको बढ्दो तैनाथीले स्थिति संवेदनशील बनेको छ।

ढाकास्थित विशेष न्यायाधिकरण परिसरमा बिहीबार बिहानैदेखि सेना र सुरक्षाकर्मी परिचालन गरिएको थियो। त्यहाँ पूर्व गृहमन्त्री असदुज्जमान खान र पूर्व प्रहरी प्रमुख चौधरी अब्दुल्लाह अल–मामुनविरुद्धको मुद्दाको सुनुवाइ भइरहेको छ। खान भारतमा रहेको विश्वास गरिन्छ भने अल–मामुनलाई कडा सुरक्षा बीच न्यायालय हाजिर गराइएको हो।

हसिनाविरुद्धको मुद्दामा मुख्य अभियोजक इस्लामले उनलाई ‘विद्रोहकालीन मानवता विरुद्धका अपराधकी मास्टरमाइन्ड’ भन्दै मृत्युदण्डको माग गरेका छन्। अवामी लिगले भने यो मुद्दालाई ‘कङ्गारू अदालत’ को संज्ञा दिँदै राजनीतिक प्रतिशोध भएको दाबी गर्दै आएको छ।

संयुक्त राष्ट्रसंघको प्रारम्भिक प्रतिवेदनअनुसार हिंसामा १,४०० जनासम्मको मृत्यु भएको अनुमान छ भने अन्तरिम सरकारका अधिकारीहरूले ८०० भन्दा बढी मृतक र करिब १४ हजार घाइतेको तथ्यांक सार्वजनिक गरेका छन्। हसिनाले यी आकडामा विवाद गर्दै स्वतन्त्र छानबिनको माग गरेकी छन्।

यसैबीच, भारतीय सञ्चार माध्यममा इमेलमार्फत हसिनासँग गरिएको अन्तर्वार्ता प्रकाशित भएपछि ढाकाले भारतीय दूतावासका उप–उच्चायुक्तलाई बोलाई कडा आपत्ति जनाएको छ। अन्तर्वार्तामा हसिनाले वर्तमान अन्तरिम नेता मुहम्मद युनुसमाथि इस्लामवादी शक्तिलाई समर्थन गरेको र मानव अधिकार उल्लङ्घन गरेको आरोप लगाएकी छन्।

उनका छोरा सजीब वाजेदले एसोसिएटेड प्रेससँग भनेका छन्– “देशमा स्थिरता कायम गर्न समावेशी चुनाव अपरिहार्य छ।”

अन्तरिम सरकारले फेब्रुअरीमा आमनिर्वाचन गर्ने घोषणा गरिसकेको छ भने अवामी लिगले आफूलाई चुनावबाट अलग्याइएको दाबी गर्दै सामाजिक सञ्जालमार्फत विरोध जारी राखेको छ।

राससको सहयोगमा 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार