इटहरी : इटहरी उपमहानगरपालिका -२० का सुनिल थापा एक समयको आसलाग्दो विद्यार्थी थिए । अहिले लागुऔषध ऐनअन्तर्गतको मुद्दामा उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
३१ वर्षीय सुनिलको जीवनयात्रा यति अप्रत्याशित मोडमा पुग्ला भन्ने परिवार, शिक्षक वा साथीसंगत कसैले पनि कल्पना गरेका थिएनन्।
सुशील अनुहार, सादगीपूर्ण जीवनशैली र पढाइमा अब्बल सुनिल इटहरीमा रहेको सुनसरी सेन्ट जेभियर्स स्कुलबाट एसएलसीमा प्रथम श्रेणी ल्याउने प्रतिभाशाली छात्र थिए। विज्ञान पढेर केही गर्ने उनको सपना थियो । बुबा ज्ञानबहादुर थापा पनि छोराको उज्ज्वल भविष्य चाहन्थे ।
तर, यथार्थमा त्यो सपनामै सीमित भयो । एसएलसीपछि उनले इटहरीकै विश्वआर्दश कलेजमा विज्ञान विषय पढ्नका लागि इन्ट्रान्स दिए । तर, असफल भए। त्यसपछि मानसिक रूपमा कमजोर हुँदै गए।
बुवाले हिम्मत दिएर उनलाई विराटनगरको मेरिल्यान्ड कलेजमा कमर्समा भर्ना गराए । जहाँ उनले कक्षा १२ सम्म राम्रो गरे। तर, त्यो सफलता पनि क्षणिक रह्यो।
स्नातक पढ्न काठमाडौँ पुगेका उनी त्यहाँको चहलपहल र प्रतिस्पर्धाले थिचिएर घर फर्किए। त्यसपछि रोजगारीको खोजीमा साइप्रस उडे। तर, त्यहाँको अनुभव झनै निराशाजनक बन्यो। न कमाइ राम्रो भयो, न त मन रमायो। इटहरी फर्किए । तर, सफल भएनन् ।
यही बिन्दुबाट कुलतमा परे, सुनिल । बेरोजगारी, निराशा र असफलताले थिचिएका सुनिल त्यहाँमाथि गलत साथीहरूको सङ्गतमा परे । लागुऔषधको लत लाग्यो। बुबा ज्ञानबहादुर भन्छन्, सुध्रिन्छ कि भनेर विदेशसम्म पठाएँ। तर, केही लागेन ।
परिवारले धेरै प्रयास गरे—सम्झाउन, सुधार्न, मन जित्न। तर, जब लतले जीवन समात्छ, त्यहाँ शब्दको औषधिले काम गर्दैन। बुबा ज्ञानबहादुर भन्छन्,"कसैले भनेको छोराले मान्न जरुरत ठानेन आज सबैका अगाडि प्रहरीले छोरालाई हतकडी लाएर लग्यो"
सुनिल मात्र होइन, उनको आमा समेत डिप्रेसनको औषधिमा निर्भर छन्। घरको हालत दिनप्रतिदिन जटिल बन्दै जान थाल्यो । परिवारकै तनावले आमा डिप्रेसन देखि सुगर,प्रेसरको रोग पालेर बस्नुपरेको छ।
सुनिल केवल प्रयोगकर्ता मात्रै रहेनन्, वितरकसमेत बने। विद्यालय र कलेजका विद्यार्थीलाई आफैँ नशा सेवन गराउन सिकाउने र पछि उनीहरूलाई नै बेच्ने काममा लागेको प्रहरीको दाबी छ ।
एक जना विद्यार्थी प्रहरी फन्दामा परेपछि अनुसन्धानको तार सुनिलसम्म पुग्यो। प्रहरीले प्रमाण सङ्कलन गर्दै जाँदा उनी लागूपदार्थको कारोबारमा जोडिए । तरहराबाट विशेष सूचनाका आधारमा प्रहरी नायव निरीक्षक टीकाप्रसाद नेपाल र सहायक निरीक्षक कमलप्रसाद घिमिरेको टोलीले उनलाई इटहरी-१ स्थित चर्च छेउबाट नियन्त्रणमा लियो।
प्रहरीको टोलीलाई देख्नासाथ भाग्न लागेका सुनिलाई प्रहरीको टोलीले लखेट्दै पक्राउ गरेको थियो । घर समेत थाहा नपाएको प्रहरीलाई पक्राउ परेका सुनिलले नै घरमा लुकाई छिपाइ लागुऔषध राखेको ठाउँमा पुर्याएका थिए । उनको कोठा घरकै अगाडी पटि रहेपनि ठुलो ताल्चा लगाएर हिडने गरेका कारण लागुऔषधका बारेमा न आमालाई नै थाहा थियो न त बुबालाई जानकारी ।
प्रहरीले उनको साथबाट ५५ पत्ता ट्रामाडोल, १० पत्ता स्पास्मोप्रोक्सिभन, अन्य लागुऔषध, चक्कु, खुकुरी, मोबाइल र गाँजा बनाउन प्रयोग हुने सामानहरू बरामद भए । प्रहरीको नजरमा उनी सञ्जालको एक सक्रिय वितरक मात्रै नभई लागुऔषधको डिलर समेत चलाउँदै आएका युवा हुन ।
"जति जना लागुऔषधमा संलग्नहरू पक्राउ गरियौ सबैले सुनिलबाटै किनेर भनेर नाम लिने गरेका कारण उनलाई ६ महिना अघिदेखि खोजी गरिरहेका थियौ आज पक्रन सफल भयौ" तरहरा चौकी इन्चार्ज समेत रहेका प्रहरी नायब निरीक्षक नेपालले भने
इटहरी-२० पछिल्ला महिनाहरूमा लागुऔषधको हटस्पट बन्दै गएको छ। चार महिनामा दर्जनभन्दा बढी प्रयोगकर्ता पक्राउ परिसकेका छन्। वडाका सदस्य तनुज गुरुङ भन्छन्, 'हामीले धेरै सचेतना कार्यक्रम गरेका छौँ । तर, अझै अपेक्षित नतिजा आएको छैन।'
इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख, प्रहरी नायव उपरीक्षक (डीएसपी) लक्ष्मी भण्डारीका अनुसार पछिल्लो समय लागुऔषध प्रयोगकर्ता बढ्दै गएका छन् ।
आर्थिक बर्ष २०८१/०८२ को १० महिनामा ४२ जना पक्राउ परेको उनले बताए । उनीहरूको साथबाट २ सय ८६ पत्ता ट्रमाडोल,२ सय ४३ केजी गाँजा तथा १ सय १० थान स्मास्मोप्रोक्सिभनसमेत बरामद गरिएको छ ।
अभिभावक सचेत नभएसम्म लागुऔषधको ग्राफ नघट्ने डीएसपी भण्डारीको भनाइ छ । १० महिनाको अवधिमा विद्यालय तह अध्ययन गर्ने २३ जना बालबालिकाहरूलाई समेत पक्राउ गरी अभिभावकको सल्लाहमा सुधार गृहहरू पठाइएको प्रहरीले जनाएको छ ।
प्रहरीको यो तथ्याङ्कले पनि विद्यालयबाटै कुलतमा फ्स्नेहरुको ५० प्रतिशत रहेको देख्न सकिन्छ । लागूऔषधका विरुद्धमा अभियान चलाई रहेका हरू सरकारले प्रभावकारी रूपमा विरुद्धको अभियान चलाउन नसकेमा नेपालमा विद्यार्थी पढाउन सक्ने अवस्था नरहने सम्मका चेतावनीहरू दिँदै आएका छन् ।
प्रतिक्रिया