मोरङ : लागुऔषध तस्करीमा नयाँ तरिका अपनाउँदै कुकुरको प्रयोग गरेर नेपाल भित्र्याउने प्रयास गरिएको एक घटना विराटनगरमा सार्वजनिक भएको छ।
मोरङको उर्लाबारी नगरपालिका–४ का २४ वर्षीय प्रशान भण्डारी कुकुरको घाँटीमा लागुऔषध लुकाएर ल्याउँदै गर्दा बिहीबार साँझ विराटनगर महानगरपालिका–१६ स्थित हुलास चोकबाट पक्राउ परेका हुन्।
भारतको जोगवनीबाट नेपाल प्रवेश गर्दै गरेका भण्डारीलाई इलाका प्रहरी कार्यालय रानीका प्रमुख सई सुवास अधिकारीको नेतृत्वमा खटिएको प्रहरी टोलीले शङ्कास्पद गतिविधिका आधारमा नियन्त्रणमा लिएको थियो। प्रारम्भिक चेकजाँचमा उनीसँग प्रत्यक्ष लागुऔषध फेला नपरे पनि सोधपुछपछि कुकुरको घाँटीमा बाँधिएको ‘बेल्ट’ (पेटी) भित्र लागुऔषध लुकाइएको भेटिएको प्रहरीको भनाइ छ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार बेल्टभित्रबाट ३.३६ ग्राम ब्राउन सुगर (खैरो हेरोइन) र ३५ थान नाइट्राजेपाम ट्याब्लेट बरामद गरिएको छ।
‘सीमा क्षेत्रमा आकस्मिक चेकजाँचमा खटिएको टोलीले कुकुरसहित भारततिरबाट आउँदै गरेको युवालाई चेकजाँच गरेको थियो । त्यस क्रममा कुकुरको घाँटीको ‘बेल्ट’भित्र लुकाएर ल्याएको लागु औषधजस्तो देखिने वस्तु बरामद भयो,’ उनले भने ।
उनका अनुसार भण्डारी पक्राउ परेसँगै कारोबारी एवं सेवनकर्ताले लागुऔषध ओसारपसार गर्न नयाँ उपाय अवलम्बन गर्न थालेको पत्ता लागेको छ ।
‘प्रहरीको चेकजाँच छल्न कुकुरको प्रयोग गरेको पाइयो । तर, पनि ओसारपसारमा संलग्नलाई पक्राउ गर्न प्रहरी सफल भएको छ,’ डीएसपी जोशी भन्छन् । उनका अनुसार लागुऔषध बोक्न प्रयोग गरिएको कुकुर भण्डारीकै घरमा पालेको पाइएको छ ।
कुकुरको नाम उनले ‘रक्की’ राखेको प्रहरीले जनाएको छ । उर्लाबारीबाट कुकुरसहित गाडीमा विराटनगर आएर भण्डारी लागुऔषध खरिद गर्न जोगवनीतर्फ गएको प्रहरीले पत्ता लागेको छ ।
डीएसपी जोशीका अनुसार कुकुर डोर्याउँदै पैदल नै जोगवनी गएका उनले फर्कँदा घाँटीमा बाँधेको ‘बेल्ट’भित्र लुकाएर लागुऔषध ल्याएको पाइएको हो ।
बरामद भएको लागुऔषध र कुकुरसहित नियन्त्रणमा लिएर उनलाई इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखिएको छ ।
अनुसन्धानमा भण्डारीले मान्छेले बोक्दा सजिलै पत्ता लाग्ने भएकाले प्रहरीको नजर छल्न कुकुरको प्रयोग गरेको स्विकारेको बताइएको छ।
यो घटनाले लागुऔषध तस्करीमा प्रयोग भइरहेका विविध चालबाजी र जोखिमपूर्ण उपायहरूलाई उजागर गर्दै सुरक्षा निकायका लागि थप सतर्कता आवश्यक छ।
प्रतिक्रिया