बेष्ट फाइनान्स नेपालपे कार्ड प्रिन्सिपल मेम्बरसिपमा आबद्ध, एनसीएचएलसँग सम्झौता

शुक्रबार, १६ जेठ २०८२

काठमाडौँ : बेष्ट फाइनान्स लिमिटेड र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) बीच एनपिएस–एनसिएस तथा डोमेस्टिक कार्ड स्किम ९नेपालपे कार्ड० को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ।

सम्झौतापत्रमा बेष्ट फाइनान्सका प्रमुख कार्यकारी अधिकृत बीएन घर्ती र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन्।

एनसीएचएलले हालै एनपिएस–एनसिएस (नेशनल पेमेन्ट स्विच–नेशनल कार्ड स्विच) को पूर्वाधार तयार भइसकेको घोषणा गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई नेपालकै डोमेस्टिक कार्ड स्किम अन्तर्गत नेपालपे कार्ड इस्यू र अक्वायर गर्न आह्वान गरेसँगै बेष्ट फाइनान्सले पनि यस प्रणालीमा आफ्नो संलग्नता जनाएको हो।

नेपालपे कार्डको कमर्सियल रोलआउटपछि बेष्ट फाइनान्सले आफ्ना ग्राहकहरूलाई कार्ड इस्यू र एटीएम तथा प्वइन्ट अफ सेल  टर्मिनलहरूमा प्रयोग गर्न मिल्ने सेवा दिन सक्नेछ।

एनपिएस–एनसिएसले विभिन्न कार्ड स्विचहरूबीच आपसी सम्पर्क स्थापना गर्दै घरेलु कार्ड कारोबारको लागि एकीकृत प्रणालीका रूपमा काम गर्नेछ, जसले कार्ड कारोबार लागत घटाउने, डाटा सुरक्षामा सुधार ल्याउने र डिजिटल भुक्तानी प्रणालीमा नवीनतम प्रविधि विकास गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ।

हाल एनसीएचएलले ५४ भन्दा बढी बैंक तथा वित्तीय संस्था, प्रमुख पेमेन्ट सर्भिस प्रोभाइडर  तथा पेमेन्ट सिस्टम अपरेटर  र १०० भन्दा बढी गैर-बैंक सदस्यहरूसँग सहकार्य गर्दै विभिन्न राष्ट्रिय भुक्तानी प्रणाली सञ्चालन गरिरहेको छ।

देशभर १८ शाखा र ३ एटीएम टर्मिनलमार्फत सेवा दिँदै आएको बेष्ट फाइनान्सले नेपालपे कार्ड प्रणालीमा सहभागितामार्फत आफ्नो बैंकिङ्ग सेवा थप आधुनिक र पहुँचयोग्य बनाउने लक्ष्य लिएको छ। यस कदमले नेपालको डिजिटल भुक्तानी इकोसिस्टममा थप गति ल्याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार