सेनाको मेजर भन्दै ट्याक्सीकै भाडा नतिरेपछि.…

शुक्रबार, १६ जेठ २०८२

काठमाडौं : आफूलाई नेपाली सेनाको मेजर भनेर ट्याक्सी भाडा नतिर्ने एक व्यक्ति र नक्कली डिएसपीको रूपमा ठगी प्रयास गर्ने अर्का व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्ने पहिलो व्यक्ति रामेछाप मन्थली नगरपालिका–७ का ३८ वर्षीय रुद्रराज कार्की हुन्, जो हाल भक्तपुर ताथलीमा बसोबास गर्दै आएका छन्। उनले कौशलटारबाट बा.प्र.०१–००२ ज ६७३९ नम्बरको ट्याक्सी चढेका थिए।

भाडा माग्दा उनले चालक मनोज न्यौपानेलाई आफू नेपाली सेनाको मेजर भएको भन्दै धम्क्याएर पैसा नतिरी भाग्ने प्रयास गरेका थिए। पीडित चालकले प्रहरीलाई खबर गरेपछि उनलाई भक्तपुर नगरपालिका–२ ब्यासीबाट नियन्त्रणमा लिइएको भक्तपुर प्रहरी प्रवक्ता डीएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए।

त्यसैगरी, शुक्रबार अपराह्न ४ बजे कौशलटारबाट नक्कली डिएसपी पक्राउ परेका छन्। सिरहा बारियारपट्टी गाउँपालिका–५ घर भई हाल काठमाडौं जोरपाटी बस्दै आएका २७ वर्षीय काशिन्द्र कुमार ठाकुरले मध्यपुर ठिमी नगरपालिका–२ दिव्यश्वरी क्षेत्रमा आफूलाई डिएसपी भनेर चिनाउँदै ठगी प्रयास गरिरहेका थिए। उनले ठगीमा परेका व्यक्तिहरूको पैसा फिर्ता गरिदिने भन्दै प्रहरीको नाममा विश्वास जित्ने प्रयास गरिरहेका थिए।

ठिमी प्रहरी वृत्तबाट खटिएको टोलीले ठाकुरलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको जनाएको छ। प्रहरीले दुवै घटनालाई गम्भीर रूपमा लिएको र आवश्यक अनुसन्धानपछि कारबाही अघि बढाइने जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार