शेखर–गगन,११ महिनापछि पुनर्मिलन

शनिबार, १७ जेठ २०८२

काठमाडौं : लामो संवादहीनताको अवस्थामा रहेका नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाबीच साढे १० महिनापछि शुक्रबार भेटवार्ता भएको छ । 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा बनेको सरकारको प्रमुख सहयात्री दल नेपाली कांग्रेसबाट मन्त्री पठाउने बेला ३० असार २०८१ मा सामान्य छलफल भएपछि दुई नेताबीच लगभग सम्वाद बन्द भएको थियो ।

१५ औं महाधिवेशनको पूर्व तयारीमा जुटेको कांग्रेसमा क्रियाशील सदस्यता विवाद सहज टुंगोमा पुर्‍याउनुपर्ने दायित्व महामन्त्री थापामाथि छ । सदस्यता व्यवस्थापन समिति संयोजक रहेका थापा र नेता कोइरालाबीच पछिल्लो अवस्थाबारे छलफल भएको कोइरालाको सचिवालयले जनाएको छ । 

महामन्त्री थापा विशाल नगरस्थित नेता कोइरालाको सम्पर्क कार्यालय पुगेर पार्टी र मुलुकको राजनीतिबारे छलफल गरेको कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले बताए ।

‘महामन्त्री थापा करिब ११ महिनापछि नेता कोइरालासँग राष्ट्रिय राजनीति र पार्टीको राजनीतिका विषयमा छलफल गर्न आउनु भयो’, उनले भने ‘यो कुनै नयाँ विषय होइन, नेताहरूबीच यस्ता भेटघाट आवश्यकता अनुसार भइरहन्छन पनि केही समय नहुन पनि सक्छन् । आजको भेट पार्टीको क्रियाशील सदस्यता र विशेष गरी सरकार सञ्चालनमा देखिएका समस्यामा केन्द्रित भएको छ ।’ करिब ११ महिनापछि दुई नेताबीच भएको छलफलमा वर्तमान राजनीति, सरकारका कामकारबाही र पार्टीको १५औं महाधिवेशनका विषयमा छलफल भएको हो । 

पार्टीको १४औँ महाधिवेशनमा एउटै प्यानलबाट सभापति र महामन्त्री लडेका नेताद्वयबीच पछिल्लो समय सम्बन्धमा दरार आएको थियो । १५ औं महाधिवेशनका लागी सभापतिको तयारीमा रहेका शेखर–गगनबीच पछिल्लो समय भएको भेटलाई अर्थपूर्णरूपमा हेरिएको छ ।

महामन्त्री थापाको संयोजकत्वमा क्रियाशील सदस्यता व्यवस्थापन समिति छ । उक्त समितिको सदस्यहरूमा सीता गुरूङ, योगेन्द्र चौधरी र प्रकाश रसाइली (स्नेही) छन् । पार्टीको पछिल्लो पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा महामन्त्री थापाले क्रियाशील सदस्यता नवीकरणमा नेताहरूको साथ खोजेका थिए ।

असार मसान्तभित्र क्रियाशील सदस्यता नवीकरणका सम्पूर्ण काम सक्न थापाले यसअघि नै मातहत निकायहरूमा निर्देशन पठाइसकेका छन् । कांग्रेसमा क्रियाशील सदस्यतालाई लिएर २१ सयभन्दा धेरै उजुरी छन् । 

२०७८ मा १४औं महाधिवेशन भएकोले ४ वर्षको अन्तरालमा १५औं महाधिवेशन २०८२ मंसिरभित्र हुनुपर्ने नेता कोइरालाको अडान कायमै छ । तर सभापति शेरबहादुर देउवाले पार्टी विधानले दिएको अधिकारअनुसार विशेष परिस्थिति देखाएर विधान र संविधानले दिएको सहुलियतलाई उपयोग गर्दै कार्यकाल थप गर्ने तयारी छन् । यो विषयमा समेत २ नेताबीच छलफल भएको बताइएको छ ।  

कोइराला–थापाबीच लामो समयसम्म संवादहीनताको अवस्थालाई राजनीतिक वृत्तमा फुटको संज्ञा दिर्इँदै आएको थियो । पार्टीको १४औं महाधिवेशनमा ‘एक पटक, यसैपटक’ भन्ने नारा लिएर चुनावी मैदानमा उत्रिएका कोइराला देउवासँग पराजित भएपछि फेरि सभापति बन्ने दैडामा देशभर कार्यकर्तासँगको भेटलाई तीब्र बनाएका छन् । कोइराला नेतृत्वमा एउटै समूहमा चुनाव लडेका महामन्त्री थापासमेत १५ औं महाधिवेशनमा सभापतिको तयारीमा जुटेका छन् । 

सोही कारण २ नेताबीच संवादहीनताको अवस्था आएको थियो । पार्टीभित्र आफ्नो छुट्टै समूह बनाएर आगामी महाधिवेशनमा नेतृत्व लिनेगरी देशव्यापी अभियानमा लागेका महामन्त्री थापाले वर्तमान सभापति देउवासँगसमेत सहयोगको अपेक्षा गरेपनि देउवाको समर्थन पाउने सम्भावना न्यून छ ।

बेलाबखत देउवासँग निकट भएजस्तो देखिने थापाले पछिल्लो पटक आफ्ना मन्त्री र सरकारको आलोचना गर्दै आएका छन् । १५ औं महाधिवेशनमा देउवाले पत्नी आरजू राणा देउवालाई पार्टी र सत्ताको शीर्षस्थानमा व्यवस्थापन गर्न चाहन्छन । जसले देउवाको अपेक्षाअनुसार काम गर्ने विश्वास दिलाउन सक्छ, उसैलाई देउवाको सहयोग मिल्ने कांग्रेसबृत्तमा बहस छ । 

संसदीय दलको नेता बन्न पार्टी सभापति शेरबहादुर देउवासँग भिडेका महामन्त्री गगन थापालाई कोइराला समूहले आधिकारिक रूपमा देउवासँग भिडाएपनि ३२ मत मध्ये २५ मत मात्रै आएपछि थापा कोइराला समूहबाट बिस्तारै टाढिँदै पछिल्लो पटक संवादहीनताको अवस्थासम्म पुगेको थिए । तर संस्थापन इतर समूहका नेता कार्यकर्ताहरू शेखर–गगनलाई १५औं महाधिवेशनसम्म विभाजन हुन नदिने प्रयासमा रहेको बताउँदै आएका छन् ।

सो समूहका एक नेता अर्जुननरसिंह केसीले यो समूहका नेताहरूबीच बेमेलको अवस्था नआएको र १५औं महाधिवेशनमा मिलेर अघि बढ्ने दाबी गरे ।     

सरकारको गतिविधिप्रति नेता कोइरालाले निरन्तर असन्तोष व्यक्त गर्दै गर्दा महामन्त्री थापा सरकारको बचाउमा थिए । तर प्रधानमन्त्री ओलीले कांग्रेस–एमालेबीच भएका सहमतिअनुसार काम नगरी नागरिकलाई भड्काउने अभिव्यक्ति दिन थालेपछि थापासमेत सरकारप्रति आलोचक बनेका छन् ।  

संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको मु्ख्य सहयोगमा विगत १० महिना अघि बनेको एमाले अध्यक्ष ओली नेतृत्वको सरकारप्रति आम गुनासो र टिप्पणीहरू बढीरहेको छ । 

पछिल्लो पटक राजावादीको आन्दोलनका सन्दर्भमा प्रधानमन्त्री ओलीका अभिव्यक्तिप्रति कांग्रेसका दुबै नेता सन्तुष्ट छैनन् । १५ जेठमा राजसंस्था पूनस्थापनासहितका माग राखेर सडक आन्दोलनमा उत्रिएको राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) प्रति कठोर देखिएका ओलीको अभिव्यक्ति गैरजिम्मेवार भएको नेताहरूको टिप्पणी छ ।

ओलीले १५ जेठमा ‘काठमाडौं एमालेको कब्जामा हुन् पर्छ’ भनेका थिए । उनको अभिव्यक्तिले सरकारनै दंगा भड्काउन उद्दत भएको देखिने भन्दै आम टिप्पणी छ । तर कांग्रेस नेतृत्वले यसलाई ठूलो रूपमा लिएको छैन ।    

राप्रपालाई साइएजमा राख्न एमालेका कार्यकर्तालाई काठमाडौं कब्जा गर्न दिएको निर्देशनप्रति शेखर पछि गगनले आपत्ति जनाएका छन् । त्यस्तै अध्यागमन कार्यालयबाट कर्मचारीले नक्कली कागजता बनाएर भिजीट भिसामा मोटो रकम लिएर व्यक्तिहरूलाई विदेश पठाएको प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि समेत सार्वजनीकरूपमै प्रश्न उठेपछि छानविनका लागी मार्ग प्रसस्त गर्न दुवै नेताले सुझाव दिएका छन् । 

सरकार र पार्टीको संस्थापन पक्षको पछिल्लो भुमिका तथा गतिविधिप्रति कोइराला र थापाको एक स्वर छ । यही विषयलाई लिएर पछिल्लो भेटघाट भएको दुबै नेताका सचिवालउले जनाएको छ । नेता कोइराला र महामन्त्री थापाबीच नियमित भेटघाट बाहेक नयाँ केही नभएको महामन्त्री थापाका स्वकीय सचिव सविन मुडभरीले बताए ।

आजको मध्यान्न दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया

पत्रपत्रिकाबाट
लेखकको बारेमा
पत्रपत्रिकाबाट

सम्बन्धित समाचार