जनकपुरधाम : आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले वर्तमान शासन व्यवस्था र सत्तारूढ गठबन्धनमाथि आलोचना गर्दै मुलुकलाई गम्भीर संकटबाट जोगाउन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनु पर्ने बताएका छन्।
आजपा मधेश प्रदेशद्वारा आयोजित ‘दलतन्त्रको भण्डाफोर गरौं, गणतन्त्रको दिशामा अघि बढौं’ नारासहितको बृहत अन्तरक्रिया कार्यक्रममा बोल्दै साहले मुलुकमा व्यापक भ्रष्टाचार, ब्रह्मलुट, विभेद र दलाल प्रवृत्तिका कारण मुलुकको अवस्था दिनप्रतिदिन खराब हुँदै गएको बताए ।
साहले प्रधानमन्त्री ओली नेतृत्वको सरकार मुलुकको आर्थिक, सामाजिक र राजनीतिक समस्यालाई सम्बोधन गर्न पूर्णतः असफल भएको भन्दै तत्काल राजीनामा दिई अन्तरिम सरकार गठन गर्नुपर्ने आवश्यकता औंल्याए ।
मुलुक धरासायी हुँदैछ, प्रधानमन्त्रीले राजीनामा गर्नुको विकल्प छैन
उनले भने।
प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको दुईतिहाइ बहुमतको गठबन्धन सरकारले आम नागरिकलाई निराश तुल्याएको भन्दै उनले वर्तमान बजेट जनतामुखी नभएको आरोप लगाए । "बजेट जनताको चाहना र आवश्यकताअनुसार आएको छैन, बरु दलाल र बिचौलियाका लागि बनाइएको देखिन्छ," उनले दाबी गरे।
साहले सरकारको नीतिले नेपालको पूँजी विदेश लैजाने बाटो खोलेको आरोप लगाउँदै भने, "२५ प्रतिशत पूँजी विदेशी लगानीकर्ताले लैजान सक्ने प्रावधानले नेपालको अर्थतन्त्र डुब्ने खतरा छ। बजेट बिचौलियालाई गुण तिर्न बनाइएको हो।"
मधेस र कर्णाली प्रदेश मानव विकास सूचांकमा पछि परे पनि बजेटमा तिनलाई बेवास्ता गरिएको भन्दै साहले संघीय सरकारले ती प्रदेशहरूलाई विभेद गरेको बताए।
साहले सीमावर्ती क्षेत्रमा सुरक्षाकर्मीहरूले आम जनताको निजी सम्पत्ति लुट्ने कार्यमा संलग्न रहेको आरोप पनि लगाए। साथै, नक्कली भिजिट भिसाको नाममा सरकार नै मानव तस्करीमा संलग्न रहेको गम्भीर आरोप लगाए ।
आजपा मधेश अध्यक्ष उमेश कुशवाहाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेतृ रीता देवी साह, अशोक लामा, बिल्टू यादव, विजय यादव निर्विज, श्रीचन मुखिया, राधेश्याम साहलगायत नेताहरूको विशेष सहभागिता रहेको थियो ।
प्रतिक्रिया