राजावादी आन्दोलन तेस्रो दिन पनि जारी, आलमलाई प्रधानमन्त्री बनाउन व्यंग्यात्मक सुझाव

शनिबार, १७ जेठ २०८२
राजावादी आन्दोलन

काठमाडौं : राजसंस्था पुनःस्थापना र हिन्दू राष्ट्रको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अगुवाइमा सुरु गरिएको राजावादी आन्दोलन तेस्रो दिन पनि जारी रह्यो।

शनिबार आन्दोलनकारीहरूले पूर्वनिर्धारित नारायणहिटी दरबार संग्रहालय क्षेत्रतर्फ प्रदर्शन गर्ने योजना बनाएपनि प्रशासनले निषेधाज्ञा जारी गरेपछि उनीहरू प्रधानमन्त्री निवास बालुवाटारअगाडि जम्मा भए। निषेधित क्षेत्रतर्फ अघि बढ्न प्रहरीले रोकेपछि आन्दोलनकारीहरू सडकमै बसेर विरोध प्रदर्शनमा सहभागी भए।

कार्यक्रममा बोल्दै राप्रपाका नेता तथा सांसद दीपक सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले "एक फोनको भरमा" अदालतबाट दोषी ठहर भई १४ वर्ष जेल सजाय सुनाइएका प्रतिवादीलाई छुटाएको आरोप लगाए। उनले यो कार्यले कानूनको उपहास भएको टिप्पणी गरे।

सांसद सिंहले गृहमन्त्रीमाथि मानव तस्करीमा संलग्न भएको आरोपसमेत लगाउँदै व्यंग्यात्मक लहजामा मोहम्मद आफताब आलमलाई प्रधानमन्त्री बनाउन सुझाएका थिए।

उनले गणतन्त्रपछि देशका उद्योगधन्दा "बेचेको" आरोप लगाउँदै गणतन्त्रको नाममा देशद्रोहीहरूलाई जोगाउने काम भएको बताए।

राप्रपाले आन्दोलनलाई शान्तिपूर्ण तर तीव्र बनाउने बताएको छ भने सरकारसँग राजसंस्था र हिन्दू राष्ट्रबारे गम्भीर संवादको माग पनि राखेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार