इटहरी : सुनसरी जिल्ला पछिल्लो समय लागुऔषधको ‘हट स्पट’ बन्दै गएको छ । लागुऔषधको कारोबार, ओसारपसार र सेवन तीव्र रूपमा वृद्धि हुँदै गइरहेको तथ्याङ्कले पुष्टि गर्छ ।
विशेषगरी धरान उपमहानगरपालिका लागुऔषध कारोबार र प्रयोगको ‘हट स्पट’का रूपमा चिनिँदै गएको छ । सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार चालु आर्थिक वर्ष २०८१–०८२ को १० महिना अर्थात् वैशाखसम्ममा मात्रै लागुऔषध ऐनअन्तर्गतको ३ सय ६१ वटा मुद्दा सुनसरीमा दर्ता भएका छन् । कारोबार, ओसारपसार र सेवनमा संलग्न ५ सय ४९ जना पक्राउ परेको उनले बताए ।
अघिल्लो आर्थिक वर्ष २०८०–०८१ मा २ सय ४१ वटा मात्रै मुद्दा दर्ता भएका थिए । ४ सय ९ जनालाई प्रहरीले पक्राउ गरेको थियो । उक्त तथ्याङ्कले सुनसरी जिल्लामा लागु औषधसँग सम्बन्धित मुद्दा र पक्राउ परेकाको सङ्ख्यामा वृद्धि भएको देखाउँछ ।
चालु आर्थिक वर्ष सकिन अझै बाँकी छ । तर, चालु वर्षको १० महिनामै अघिल्लो वर्षको तुलनामा लागु औषधसँग सम्बन्धित १ सय २० वटा बढी मुद्दा दर्ता भइसकेका छन् । १ सय ४० जना बढी पक्राउ परेका छन् ।
खतिवडाका अनुसार लागु औषधसँग सम्बन्धित घटना वृद्धि हुनु अत्यन्तै चिन्ताजनक हो । ‘लागुऔषधको कारोबार र प्रयोग बढ्दै जाँदा समाज ध्वस्त हुन्छ । सामाजिक संरचनामा नकारात्मक असर पर्छ । युवा पुस्ता लागुऔषधको दलदलमा फसेको छ । यसले समाज र परिवार विघटनको जोखिम उच्च बनेको छ,’ उनले भने ।
जिल्लाका विभिन्न ठाउँहरूबाट आजकाल दैनिक जसो लागुऔषधका कारोबारी र प्रयोगकर्ता पक्राउ नपरेको दिन नै छैन । ‘लागुऔषध नियन्त्रण निक्कै चुनौतीपूर्ण बन्दै गएको छ । यो अति नै चिन्ताजनक विषय हो,’ खतिवडा भन्छन् ।
चालु आर्थिक वर्षको हालसम्ममा गाँजा ९ हजार ३ सय ४३ किलोग्राम र विभिन्न प्रकारका लागुऔषध ३ लाख ९३ हजार ८ सय ६० ट्याब्लेट, २ सय ८५ एम्पुल तथा ६८ बोतल र ब्राउन सुगर ९खैरो हेरोइन० ५ सय ६३ ग्राम ७ सय ८३ मिलिग्राम एवं चरेस २ ग्राम २८ मिलिग्राम बरामद भएको जानकारी उनले दिए ।
डीएसपी खतिवडाका अनुसार अघिल्लो वर्ष गाँजा ५ हजार १५ किलो र विभिन्न प्रकारका लागुऔषध ६० हजार ८ सय ८५ ट्याब्लेट, १ हजार ९ सय ८५ एम्पुल तथा १९ बोतल र ब्राउन सुगर ७ सय ४ ग्राम ६१ मिलिग्राम बरामद भएको थियो । अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको हालसम्ममा प्रहरीले गाँजा ४ हजार ३ सय २८ किलोग्राम र विभिन्न प्रकारका लागुऔषध ३ लाख ३२ हजार ९ सय ७५ ट्याब्लेट बढी बरामद भएको छ ।
धरान, इटहरी, इनरुवा, बराहक्षेत्र, दुहबीलगायतका विभिन्न स्थानमा लागुऔषध कारोबारी सक्रिय रहेको निष्कर्ष प्रहरीले निकालेको छ । प्रहरीको सक्रियता र अभियानसँगै लागुऔषधको धन्दामा संलग्नहरू पक्राउ पर्ने र लागुऔषध बरामद हुने क्रम बढेको छ ।
लागुऔषधका कारण मानसिक समस्या निम्तिने, मानिसले नियन्त्रण गुमाउने, शिक्षा र रोजगारीमा गिरावट आउने तथा समाजमा अपराध बढ्ने सुनसरी प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले बताए । त्यति मात्रै हैन, यसले परिवार एवं सम्पत्ति ध्वस्त बनाउँछ । सामाजिक संरचनामा गहिरो असर पुर्याउँछ ।
नेपालमा स्पास्मोप्रोक्सिभन, डाइजेपाम, नुफिन, ब्राउन सुगर, गाँजा, चरेस, फेनारगनलगायतका लागुऔषधको प्रयोग उच्च रहेको विभिन्न अध्ययनहरूले देखाएको छ । भारतसँगको खुला सीमाका कारण लागुऔषध सहजै नेपाल भित्रिन्छ । प्रहरीले सीमा क्षेत्रमा कडाइ गरे पनि लुकाई छिपाइ भित्राउनेहरूको सङ्ख्या उल्लेख छ । साथै, गाँजा नेपालमै उत्पादन हुन्छ ।
गाँजा नेपालबाट भारततिर लैजान गरिएको छ । ‘लागुऔषध नियन्त्रणका लागि प्रहरी सक्रियता बढाइएको छ । नेपाल–भारत सीमा क्षेत्रमा कडाइ गरिएको छ,’ एसपी तिम्सिना भन्छन्, ‘लागुऔषध बरामद र यसको धन्दामा संलग्न पक्राउ परेको विवरणले पनि प्रहरीले कडाइका साथ काम गरिरहेको प्रस्ट हुन्छ । लागुऔषध नियन्त्रणमा सबै पक्षको सहयोग आवश्यक छ ।’
पूर्व–पश्चिम लोकमार्ग, भारतीय सीमासँगको भौगोलिक निकटता र सघन सहरीकरणले सुनसरी लागुऔषध ओसारपसारका लागि सहज मार्ग बनेको छ । विशेषगरी धरानजस्तो पर्यटकीय एवं शैक्षिक केन्द्रमा लागुऔषधको पहुँच सजिलो हुनु दुर्भाग्यपूर्ण भएको प्रहरीको निष्कर्ष छ ।
प्रहरीका अनुसार लाहुरेहरूको सहरका रूपमा परिचित धरानमा रहेका केही फार्मेसी (औषधि पसल)बाट समेत लागुऔषध खुलेआम बिक्री हुने गरेको पाइएको छ । ‘फार्मेसीबाटै लागुऔषधको किनबेच हुनु दुःखद हो । तर, प्रहरीले निगरानी बढाएर कारबाही तीव्र पारेको छ,’ तिम्सिनाले भने ।
पूर्वकै ठुलो अस्पताल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा छ । जसको वरपर २ सयभन्दा बढी फार्मेसीहरू छन् । इलाका प्रहरी कार्यालय धरानले छापा हान्ने क्रममा फार्मेसीबाट लागुऔषधको कारोबार हुने गरेको पत्ता लागेको थियो ।
विद्यालय, कलेज, क्याफे र सार्वजनिक स्थलहरूमा लागुऔषध प्रयोग बढेको भन्दै सर्वसाधारणले चिन्ता व्यक्त गरिरहेका छन् । युवाहरू कुलतमा फस्ने क्रम बढेको प्रहरीकै अध्ययन एवं अनुसन्धानले पनि देखाउँछ । तर, नियन्त्रणका लागि अभिभावक, शिक्षक, प्रहरी र स्थानीय सरकारबीच समन्वयको अभावले समस्याको समाधान चुनौतीपूर्ण बनेको सरोकारवाला बताउँछन् ।
प्रहरीले अभियान चलाइरहे पनि सञ्जाल तोड्न सम्भव भइरहेको छैन । एसपी तिम्सिना भने सुनसरीमा लागुऔषध सञ्जाल भत्काउने गरी प्रहरी अघि बढिरहेको बताउँछन् । ‘कानुनी कारबाही मात्रै समस्याको समाधान हैन भनेर लागुऔषधविरुद्ध विभिन्न जनचेतनामूलक कार्यक्रमलाई तीव्र पारिएको छ,’ उनले भने ।
सामाजिक र शैक्षिक हिसाबले पनि यस विरुद्धको अभियान चलाउनुपर्ने जरुरी रहेको प्रहरीको भनाइ छ । ‘लागुऔषधले व्यक्तिगत स्वास्थ्यसँगै धन सम्पत्ति, परिवार र समाजलाई ध्वस्त बनाएको छ । सामाजिक, स्वास्थ्य र शैक्षिक पाटाहरू यसको प्रमुख कारक हुन्,’ प्रहरीले भन्यो । लागुऔषध नियन्त्रणमा दीर्घकालीन रणनीति आवश्यक देखिएको र यसमा सबै पक्ष एकजुट हुनुपर्ने अवस्था रहेको सरोकारवाला बताउँछन् ।
सुनसरी र विशेषगरी धरान क्षेत्र लागुऔषधको भयावह सङ्कटमा फस्दै गएको छ । समयमै यसलाई नियन्त्रण गर्न सकिएन भने सामाजिक संरचना नै ध्वस्त हुने खतरा रहेको पूर्वलागुऔषध प्रयोगकर्ताहरू बताउँछन् ।
उनीहरूका अनुसार लागुऔषधको जालो तोड्न र यससँग सम्बन्धित समस्या समाधान गर्न राज्य, समाज, परिवार र शिक्षण संस्थाबिच सहकार्य गरेर बहु आयामिक प्रयास गर्नुपर्ने आवश्यकता देखिन्छ ।
प्रतिक्रिया