खोटाङ : खोटाङको सदरमुकाम दिक्तेलमा अकबरे खुर्सानीको मूल्य प्रतिकिलो एक हजार रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च मूल्य हो। व्यापारीहरूले गाउँका कृषकबाट प्रतिकिलो ७०० देखि ८०० रुपैयाँमा खरिद गरी उपभोक्तालाई एक हजार रुपैयाँमा बिक्री गरिरहेका छन्।
औषधीय गुण र स्वादका कारण महँगो भए पनि अकबरे खुर्सानीप्रति उपभोक्ताको आकर्षण घटेको छैन।
बेमौसमी अकबरे खुर्सानी खेती गर्दै आएका दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका कृषक इन्द्रबहादुर श्रेष्ठले हरेक हप्ता १४–१५ किलो खुर्सानी बिक्री गरिरहेको जानकारी दिए। उनले यस वर्ष १२०० बोट अकबरे खुर्सानी रोपेपछि माग राम्रो रहेकाले आगामी दिनमा खेती विस्तार गर्ने योजना बनाएका छन्।
दिक्तेल बजारमा खाल्ले, बुइपा, बाम्राङ, लफ्याङ, सोल्मा, नेर्पा र दोर्पाबाट ल्याइएका खुर्सानीसहित अन्य तरकारीको समेत राम्रो खपत भइरहेको छ। सीमित व्यवसायिक कृषकहरूले राम्रो आम्दानी गरिरहेका छन्।
हाल जिल्लामा सबै प्रकारका तरकारी तथा फलफूलको मूल्य समेत उच्च बनेको छ। गोलभेडा प्रतिकिलो १५०, कन्य च्याउ ३००, प्याज ९०, आलु ६०, बन्दागोभी ४०, र काउली १५० रुपैयाँ पुगेको छ।
कृषकका नाममा आउने सरकारी अनुदान वास्तविक किसानभन्दा नेताका नजिकका व्यक्तिले मात्रै पाउने, र उनीहरूले खेती नगरेर अनुदान दुरुपयोग गर्ने गुनासो उपभोक्ताबाट आएको छ।
कृषक गङ्गाबहादुर विश्वकर्माका अनुसार अनुदान पहुँच योग्य नहुँदासम्म मूल्य अझै बढ्ने सम्भावना छ। उता, बजारमा तराईबाट ल्याइएका सस्तो तर विषादी परीक्षणविनाका तरकारी र फलफूल खुलेआम बिक्री भइरहँदा सरोकारवाला निकाय मौन देखिएका छन्।
प्रतिक्रिया