संसद अवरोधबारे छलफलमा माओवादीको माग यथावत, गृहमन्त्रीले राजीनामा दिनै पर्ने

सोमबार, १९ जेठ २०८२

काठमाडौं : नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सोमबार सिंहदरबारमा बसेको प्रमुख तीन दलका शीर्ष नेताहरूबीचको छलफलमा माओवादी केन्द्रले आफ्ना मागहरू यथावत राखेको बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा भएको उक्त छलफलमा सत्तापक्षले संसद अवरोध हटाएर अगाडि बढ्नुपर्ने धारणा राखे पनि माओवादी केन्द्रले गृहमन्त्रीको राजीनामा माग्ने अडान कायम राखेको हो।

पाण्डेले भने, “सत्तापक्षबाट संसद खोल्नुपर्ने विषय आयो। प्रधानमन्त्री र गृहमन्त्रीज्यूहरुले पनि राजीनामा होइन, संसद खोलेर अगाडि बढ्नुपर्छ भन्ने कुरा राख्नुभयो। तर, हामीले राखेका मागहरू यथावत छन्। हामी सुशासनको विषयमा केन्द्रित भएर अघि बढ्नुपर्ने पक्षमा छौं।”

उनका अनुसार अन्य प्रतिपक्षी दलहरूसँग अझै छलफल बाँकी रहेको भन्दै सोमबारको छलफलमा कुनै ठोस निष्कर्षमा पुग्न नसकिएको जनाएका छन्। “छलफल संसदको गतिरोध कसरी हल गर्ने भन्ने विषयमा केन्द्रित रह्यो,” उनले भने, “तर कुनै ठोस निर्णय भएको छैन। हामीले अझै प्रतिपक्षीहरूसँग पनि संवाद गर्नुपर्नेछ।”

उक्त छलफलमा प्रधानमन्त्री ओलीसँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखक लगायत नेताहरू सहभागी थिए।

संसदमा देखिएको गतिरोध अन्त्य गर्ने उद्देश्यले गरिएको छलफल यद्यपि प्रारम्भिक चरणमै सीमित रहँदा अवरोधको समाधान तत्काल नखुल्ने संकेत देखिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार