पूर्वसभामुख सापकोटा र सांसद दोङमाथि अनुसन्धान गर्ने बाटो खुल्यो

विहीबार, २२ जेठ २०८२

काठमाडौँ : छत्रे बाँझ गाविस–५, दाप्चा, काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या भएको दुई दशकपछि उक्त घटनाको न्यायिक प्रक्रिया पुनः सुरु हुने बाटो खुलेको छ।

लामो समयदेखि न्यायको खोजीमा लागिरहेकी उनकी पत्नी पूर्णिमा या लामाले सर्वोच्च अदालतमा दायर गरेको रिटमा बुधवार उत्प्रेषणको आदेश दिइएपछि अनुसन्धान अघि बढ्न लागेको हो।

२०६२ वैशाख १६ गते तत्कालीन विद्रोही नेकपा माओवादीको समूहले अर्जुन लामालाई अपहरण गरी दुई महिनापछि हत्या गरेको थियो।

उनी छत्र बाँझको श्रीकृष्ण माविका व्यवस्थापन समिति अध्यक्ष थिए। विद्यालयबाटै अपहरण गरिएका लामाको शव साबिक बुढाखानी गाविसको चार किल्ला भन्ने ठाउँमा गाडिएको अवस्थामा फेला परेको थियो।

हत्या घटनापछि २०६५ साउन २६ गते पूर्णिमा याले माओवादी नेता अग्नि सापकोटा, सांसद सूर्यमान दोङसहित ६ जनाविरुद्ध काभ्रे जिल्ला प्रहरीमा किटानी जाहेरी दिएकी थिइन्। तर प्रहरी अनुसन्धान अघि नबढेपछि उनले सर्वोच्च अदालतमा २०६९ मङ्सिर ७ गते रिट दायर गरेकी थिइन्। सोही मुद्दामा अदालतले झन्डै १२ वर्षपछि सापकोटाविरुद्ध उत्प्रेषणको आदेश दिएको हो।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित न्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी, डा.मनोजकुमार शर्मा र डा. कुमार चुँडाल रहेको संवैधानिक इजलासले सापकोटाविरुद्ध अनुसन्धान अघि बढाउन बाटो खोलेको हो।

२०६९ सालमा तत्कालीन प्रधानमन्त्री डा.बाबुराम भट्टराई नेतृत्वको सरकारले सापकोटाविरुद्धको जाहेरीलाई तामेलीमा राख्ने निर्णय गरेको थियो। त्यस निर्णयविरुद्ध पूर्णिमा याले सर्वोच्चमा रिट दिएकी थिइन्। यसअघि पनि विभिन्न चरणमा न्यायाधीशहरूले सरकारसँग कारण माग्ने र मिसिल झिकाउने आदेश दिएका थिए।

सापकोटा यसबिचमा सञ्चारमन्त्री, वनमन्त्री र सभामुखसमेत बनेका थिए। उनीमाथि ज्यान मुद्दा विचाराधीन रहेकै बेला मन्त्री पदमा नियुक्त गरिएपछि मानव अधिकारकर्मी सुशील प्याकुरेलले २०७२ मा छुट्टै रिट दायर गरेका थिए, जसलाई सर्वोच्चले खारेज गरिसकेको छ।

१२ वर्षपछि सर्वोच्चको आदेशबाट अर्जुन लामाको हत्या प्रकरणले फेरि नयाँ मोड लिएको छ। पीडित पत्नी पूर्णिमा याले अन्ततः न्यायको अनुभूति भएको बताएकी छन्।

प्रतिक्रिया

पत्रपत्रिकाबाट
लेखकको बारेमा
पत्रपत्रिकाबाट

सम्बन्धित समाचार