रौतहट : रौतहट जिल्लामा पछिल्लो एक महिनामा तीन नवविवाहिताको शंकास्पद हत्या भएको दाबीसँगै महिलाविरुद्धको हिंसा गम्भीर रूपमा सतहमा आउन थालेको छ। नवविवाहिताहरूको शृङ्खलाबद्ध मृत्युका घटनाले प्रहरी अनुसन्धान र समाज दुवैमा गम्भीर प्रश्न खडा गरिदिएको छ।
सबैभन्दा पछिल्लो घटना कटहरिया नगरपालिका–१, भासेढवा गाउँमा मंगलबार राति २२ वर्षीया अल्का यादवको मृत्युसँग जोडिएको छ। आफ्नै घरको कोठामा मृत अवस्थामा भेटिएकी अल्काको घटनालाई शंकास्पद भन्दै प्रहरीले अनुसन्धान थालेको छ। प्रहरीले घटनास्थलबाट मृतकका ससुरा रामपुकार यादवलाई नियन्त्रणमा लिए पनि श्रीमान् अनकेश यादव र सासू शान्ति देवी भने फरार छन्।
मृतकको माइती पक्षले उनलाई श्रीमान्,सासू र ससुराले मिलेर कुटपिट गर्दै घाँटी थिचेर हत्या गरेको र त्यसलाई आत्महत्या झैं देखाउने प्रयास गरिएको दाबी गरेका छन्।
यतिबेला घटनाको पोष्टमार्टम रिपोर्ट प्रतीक्षा गरिँदैछ भने फरार परिवारजनको खोजी भइरहेको छ।
यसअघि पनि कटहरिया–३ निवासी अरमान राय भाटमाथि आफ्नी श्रीमतीलाई आत्महत्या गर्न बाध्य बनाएको आरोपमा आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गरिएको थियो। उनी अहिलेसम्म फरार छन्।
त्यस्तै जेठ १६ गते दुर्गा भगवती गाउँपालिका नजिकैको खोलानालाको झाडीमा श्रृंगार गरिएको अवस्थामा एक नवविवाहिताको शव फेला परेको थियो। ती महिलाको पहिचान अझै खुल्न सकेको छैन भने घटना पनि अनुसन्धानकै चरणमा छ।
स्थानीयहरूका अनुसार दाईजो प्रथा, घरेलु हिंसा, राजनीतिक संरक्षण र आर्थिक चलखेलको कारणले यस्तो प्रकारका जघन्य अपराधमा संलग्नहरू सजिलै उम्किन पाउने अवस्थाले अपराधलाई बढावा दिइरहेको छ।
प्रतिक्रिया