विराटनगर : मोरङ जिल्ला अदालतले विराटनगरस्थित तुलसी बहुमुखी सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मालाई ६ वर्ष कैद र ६७ करोड रुपैयाँभन्दा बढी जरिवानाको फैसला सुनाएको छ।
न्यायाधीश सीता शर्मा अधिकारीको इजलासले सहकारीको रकम अपचलनसम्बन्धी मुद्दामा शर्मासहित सचिव सविना न्यौपाने र क्षेत्रीय प्रबन्धक सन्दीप खवासलाई दोषी ठहर गर्दै बिहीबार सजाय तोकेको हो।
अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार, अध्यक्ष शर्मालाई ६ वर्ष कैद, ६७ करोड ५९ लाख २१ हजार २६८ रुपैयाँ बिगो र सोही बराबरको जरिवाना साथै पीडित राहत कोषमा २ करोड ७० लाख ३६ हजार ८५० रुपैयाँ बुझाउने आदेश दिइएको छ।
सचिव न्यौपाने र प्रबन्धक खवासलाई भने जनही २ वर्ष २ महिना कैद सजाय सुनाइएको छ। खवासलाई २७ लाख बिगो, २७ लाख जरिवाना र १ लाख ८ हजार पीडित राहत कोषमा बुझाउने फैसला गरिएको छ।
न्यौपानेलाई भने बिगो र जरिवाना तोकिएको छैन, तर पीडित राहत कोषमा ६ सय रुपैयाँ बुझाउनुपर्नेछ।
यसै मुद्दामा सहकारीकी उपाध्यक्ष अनिता गौतम र सञ्चालक आदित्यनाथ भट्टराई सफाइ पाएका छन् भने फरार सञ्चालक छविलाल विश्वकर्मा र बन्टी अधिकारीको मुद्दा मुल्तबीमा राखिएको छ।
२०७९ साल चैत १२ गते दायर भएको मुद्दामा सहकारी अध्यक्षसहित ८ जनालाई प्रतिवादी बनाइएको थियो। अनुसन्धानका क्रममा विराटनगर मुख्य कार्यालयसहित तीन शाखाबाट २१ हजार १५४ जना बचतकर्ताको जम्मा १ अर्ब ४५ करोड ७५ लाख ४५ हजार ९९१ रुपैयाँ अपचलन भएको खुलेको थियो।
थुनामा रहँदै सजाय निर्धारणको प्रक्रिया पूरा भएकाले सचिव न्यौपाने र प्रबन्धक खवास अब रिहा हुनेछन्।
प्रतिक्रिया