चेयरम्यान कप चेसको उपाधि बाँसबारी माविलाई

विहीबार, २२ जेठ २०८२

काठमाडौँ : काठमाडौँ महानगरपालिका–४ द्वारा आयोजित चेयरम्यान कप स्कूल चेस च्याम्पियनसिपको उपाधि बाँसबारी माध्यमिक विद्यालयले जितेको छ। बालुवाटारस्थित महेन्द्र राष्ट्रिय माविको हलमा बिहीबार सम्पन्न दुईदिने प्रतियोगितामा बाँसबारीले ७६ अंक जोड्दै उपाधिमा कब्जा जमाएको हो।

हिमालयन चेस एकेडेमीको व्यवस्थापनमा सम्पन्न प्रतियोगितामा काठमाडौँका २० विद्यालयका ३१९ खेलाडीले ६ समूहगत स्पर्धामा प्रतिस्पर्धा गरेका थिए। प्रत्येक स्पर्धामा शीर्ष १० खेलाडीलाई दिइने अंकको आधारमा विद्यालयगत उपाधि निर्धारण गरिएको थियो।

प्रतियोगितामा ८८नेसनल क्रियटिभ को–एडुकेशनल स्कूल (एनसीसीएस) ८८ले ५३ अंक जोड्दै दोस्रो स्थान हासिल गऱ्यो भने महेन्द्र राष्ट्रिय माविले ३२ अंकका साथ तेस्रो स्थानमा रह्यो।

व्यक्तिगत तर्फका नतिजा
कक्षा १–४ गल्र्स समूहमा बाँसबारीकी सिमरन कार्कीले सबैभन्दा बढी ४ अंक बटुल्दै प्रथम भइन्। बाँसबारीकै सुप्रिया मोक्तान, धुम्रवाराही माविकी सन्ध्या कुमारी शाह र महेन्द्र माविकी आशिका लोप्चनले समान ३–३ अंक जोड्दा टाइब्रेकरका आधारमा सुप्रिया दोस्रो र सन्ध्या तेस्रो बनिन्।

ब्वाइज समूहमा मेरिडियन इन्टरनेसनल स्कूलका आयम सुवेदीले पाँचै खेल जित्दै उपाधि जिते। एनसीसीएसका अर्णव मानन्धरले ४ अंकसहित दोस्रो र श्रेयांश सापकोटा तेस्रो भए।

कक्षा ५–८ गल्र्स समूहमा एनसीसीएसकी आराध्य गुप्ताले ५ अंकसहित पहिलो स्थान हासिल गरिन्। धुम्रवाराहीकी समीक्षा नेपाल ४.५ अंकका साथ दोस्रो र बाँसबारीकी अप्सरा खत्री ४ अंकसहित तेस्रो बनिन्।

ब्वाइज समूहमा पञ्चकन्या आधारभूत विद्यालयका अतिश महर्जनले ६.५ अंकसहित शीर्षस्थान हासिल गरे। बाँसबारीका शिशिर ढकाल र सुमिर तामाङले समान ६ अंक जोडे पनि टाइब्रेकरमा शिशिर दोस्रो र सुमिर तेस्रो भए।

कक्षा ९–१२ गल्र्स समूहमा बाग्मती बोर्डिङ स्कूलकी देवयानी गुरागाईंले ५ अंकसहित उपाधि जितिन्। सोही विद्यालयकी मायुमी राई दोस्रो र एनसीसीएसकी आँचल चौधरी तेस्रो स्थानमा रहिन्।

ब्वाइज समूहमा न्युटन हाईस्कुलका सोहन प्रजापति ६.५ अंकका साथ प्रथम भए। बृहस्पति विद्यासदनका प्रेम विक्रम अधिकारी ६ अंकसहित दोस्रो र बाग्मतीका आयुष बस्नेत तेस्रो भए।

समापन समारोहमा विजेता खेलाडीहरूलाई काठमाडौं महानगर–४ का वडाध्यक्ष दिनेश महर्जन, नेपालकी पहिलो महिला राष्ट्रिय चेस च्याम्पियन मोनालिशा खम्बूलगायत अतिथिहरूले ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार