‘दुई सयको बचत, दस हजारको सहारा’

आइतबार, २५ जेठ २०८२

इलाम: विदेशी भूमिमा पसिना बगाएका र फर्किएर गाउँमै रोजगारी सृजना गरेका सूर्योदय नगरपालिका–१३ र १४ का बासिन्दाले सञ्चालन गरेको ‘आप्रवासी बहुउद्देश्यीय सहकारी संस्था’ प्रभावकारी बन्दै गएको छ । त्रिहत्तर घरपरिवार आबद्ध सहकारीमा अहिले मासिक रु दुई सय अनिवार्य र रु पाँच सय ऐच्छिक बचत सङ्कलन हुँदै आएको छ ।

“अप्ठ्यारो पर्दा चर्को ब्याजमा ऋण खानुपरेको छैन । सहकारी सुरु भएपछि हामीलाई सहारा मिलेको छ”, संस्थाकी कोषाध्यक्ष रीना राईले भनिन् । “सहकारीले १२ प्रतिशत ब्याजदरमा अधिकतम रु १० हजार ऋण उपलब्ध गराउँछ । एक सदस्यले तीन महिनाका लागि ऋण लिन पाउने व्यवस्था छ । तीन महिनाका लागि रु १० हजार ऋण लिएमा जम्मा रु तीन सय ६० ब्याज तिर्नुपर्छ ।”

सहकारीकी सहसचिव माया राईका अनुसार यो ऋणले बालबच्चाको पढाइदेखि तरकारीखेती, बीउबिजन खरिदजस्ता काममा सदस्यलाई सहुलियत दिएको छ । विसं २०७९ मा स्थापना भएको सो सहकारीमा हाल ७३ परिवार आबद्ध छन् । विदेश गएका वा फर्किएका सदस्यमात्र सामेल हुन पाउने यो सहकारीले आर्थिक समृद्धिको यात्रामा महत्त्वपूर्ण पाइला चालेको छ । सुरुमा ४० जना सेयर सदस्यबाट सुरु गरिएको सहकारीमा अहिले मासिक रु दुई सय अनिवार्य र रु पाँच सय ऐच्छिक बचत सङ्कलन हुँदै आएको हो ।

वित्तीय साक्षरतामा पनि संस्था सशक्त बन्दै गएको छ । विसं २०७६ मा सूर्योदय नगरपालिकाले सामी कार्यक्रमअन्तर्गत २५ जनालाई २४ हप्ते वित्तीय साक्षरता तालिम दिएको थियो । सहकारीका कोषाध्यक्ष राईका अनुसार तालिमले सदस्यहरूमा वित्तीय अनुशासन र सचेतना बढेको छ । तालिमपछि ३० जनाले उद्यमशीलता तालिम पनि लिए, जसअन्तर्गत अचार  बनाउने सीप प्राप्त गरेका थिए । तालिमपछि स्थानीय महिलाहरूले मिक्स अचार, अकबरे पेस्ट, आँप र फर्सीको अचार उत्पादन गरी बिक्री गर्न थालेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार