इटहरी : कोशी प्रदेशको व्यस्त व्यापारिक केन्द्र इटहरीको मुख्य चोक अहिले विकासको प्रतीक नभई, ठेकेदारको अटेरी र सरकारी संयन्त्रको कमजोरीले सिर्जिएको शहरको कुरूपता र जनपीडाको उदाहरण बनेको छ ।
कोशी लोकमार्गअन्तर्गत रानी–विराटनगर–धरान ६ लेन सडक आयोजनाको इटहरी खण्ड ठप्प हुँदा सहरको मुहार बिग्रिएको छ । शहरको मुख्य केन्द्रको सडक खण्डमा निर्माण कार्य अलपत्र परेपछि जनजीवन अस्तव्यस्त बनेको छ ।
२०० मिटरले शहरको विकास रोकियो
विराटनगर लाइनस्थित नबिल बैङ्कदेखि इटहरी मुख्य चोकसम्मको करिब २०० मिटर सडक अझै कालोपत्रे हुन सकेको छैन । माघ महिनाभित्र काम सक्ने भनिएको योजना अहिले ४० प्रतिशतमै अल्झिएको छ ।
निर्माणको जिम्मा पाएको शुभकामना–बोहरा–युनिक जेभी सम्पर्कविहीन भएपछि काम ठप्प छ । इटहरीका नागरिक यति बेला ठेकेदारको गैरजिम्मेवारीका कारण धुलो, हिलो र जोखिमपूर्ण सडकमा दैनिक सास्ती भोगिरहेका छन् ।
३२.८४ किमी सडक सकियो, तर इटहरी अलपत्र
रानी–विराटनगर–धरान ६ लेन सडक योजनाअन्तर्गत ४४.२७ किलोमिटरमध्ये ३२.८४ किलोमिटर खण्ड निर्माण भई हस्तान्तरण भइसकेको छ । तर,इटहरीको मुख्य बजार क्षेत्रको अवस्था भने ‘स्थानीय सौन्दर्य बिगार्ने’ धुलाम्मे मैदानमा रूपान्तरण भएको छ । सडकका दुवै किनारामा सवारी जाम, पैदल यात्रीलाई दुर्घटनाको जोखिम र व्यापारिक घाटाले आर्थिक गतिविधि समेत प्रभावित छन् ।
ठेकेदारको बेपर्बाह शैली
ठेकेदार शुभकामना–बोहरा–युनिक जेभीका राजेश बोहरा यो समस्याका मूल नायक हुन् । बोहरा आफैँ इटहरी निवासी हुन् । उनले मिडियामा पटक–पटक ‘इटहरीमै ध्यान केन्द्रित गर्छु’ भन्दै बोलेका थिए । तर, यथार्थमा कार्यालयमै उपस्थित नभई उनी सम्पर्कविहीन बनेका छन् ।
सम्बन्धित निकायले पटक–पटक ताकेता गर्दा समेत कुनै जवाफ आएको छैन । आयोजनाका इन्जिनियर शम्भु मोची भन्छन्, ‘हामीले हदैसम्म प्रयास गर्यौँ । तर, निर्माण पक्ष सम्पर्कभन्दा बाहिर छ ।’
दोस्रो सञ्चालकको दाबी, तर विश्वास छैन
राजेश बोहराको निष्क्रियतापछि सोही जेभीका अर्का सञ्चालक आनन्द सुवेदीले ‘अब म काम सुरु गर्दैछु’ भन्दै दाबी गरेका छन् । उनले सम्पूर्ण कागजात कार्यालयमा बुझाइसकेको बताएका छन् ।
‘राजेश सरले काम गर्न नसक्नु भएको हो । अब म सम्पूर्ण जिम्मेवारी लिन्छु,’ सुवेदीले भने । उनले आगामी असोजसम्म काम सक्ने दाबी गरेका छन् ।
तर, इन्जिनियर मोचीले भने शङ्का व्यक्त गर्दै भने, ‘फोनमा कुरा भएको थियो । तर, उहाँ कार्यालय आउनुभएको छैन । बोलाउँदा पनि सम्पर्कबाहिर हुनुहुन्छ ।’
स्थानीय आक्रोश र जनदबाब
यो लापरबाहीप्रति स्थानीय आक्रोशित छन् । इटहरी–६ निवासी विवेक विष्ट भन्छन्, ‘मुख्य चोकमै यस्तो छ भने अन्य ठाउँको अवस्था झन् डरलाग्दो होला । यस्तो गैर जिम्मेवार ठेकेदारलाई कालोसूचीमा राखेर नयाँ ठेक्काबाट काम अगाडि बढाउनुपर्छ ।’ उनीजस्तै अन्य व्यवसायी र यात्रुहरूको दैनिकी सडकको धुलो, हिलो र ट्राफिक जामसँग सङ्घर्षमै बितिरहेको छ।
प्रशासनको निर्देशन कागजमै सीमित
दुई महिनाअघि सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले ‘तत्काल अधुरा काम सक्नुपर्छ’ भन्दै निर्देशन दिएका थिए । तर, ठेकेदार कम्पनीले त्यसलाई बेवास्ता गर्दै विकासलाई ‘होल्ड’मा राखेको छ । प्रशासनको निर्देशन पनि अन्ततः बोली र कागजमै सीमित भएको छ ।
अस्तव्यस्त यातायात, धुमिल सौन्दर्य
सडक निर्माण अलपत्र परेपछि सहरको सौन्दर्य धुमिल बनेको छ। सवारी जाम, धुलो–माटो, जोखिमयुक्त पैदल यात्रा र व्यापारिक क्षेत्रको मन्दीले इटहरीको साखमा आँच आएको छ । स्थानीय भन्छन्, ‘सडक बनेर सहर सुन्दर हुने सपना देखेका थियौँ । तर, अहिले त झन् जीवन नै कष्टकर भएको छ ।’
भविष्य अनिश्चित, समाधान कहिले ?
करिब १० अर्ब १७ करोड रुपैयाँको लागतमा आर्थिक वर्ष २०६९/७० मा सुरु गरिएको रानी–विराटनगर–धरान सडक विस्तार आयोजनाले हालसम्म ९५ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ। तर, प्रारम्भमा १० वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएको आयोजना डेढ दशक पुग्न लाग्दा पनि अझै अलपत्र अवस्थामा छ।
सुरुमा रानीबाट विराटनगर हुँदै धरानको जिरोपोइन्टसम्म ४९ किलोमिटर सडक निर्माण गर्ने योजना थियो। तर, विभिन्न प्राविधिक र स्थानीय अवरोधका कारण हालसम्म धरानको मुख्य बजार क्षेत्रसम्म पुग्न सकेको छैन। अहिलेसम्म तीनकुनेसम्मको मात्र ठेक्का प्रक्रिया अगाडि बढाइएको छ।
विशेषगरी दुहबी बजार क्षेत्रमा देखिएको स्थानीय विवादका कारण करिब ६ सय मिटर सडक खण्डको ठेक्का प्रक्रिया रोकिएको छ। यसले गर्दा उक्त क्षेत्रका बासिन्दाले लामो समयदेखि सास्ती भोग्नु परिरहेको छ भने विकास निर्माणका काम थप ढिलो हुने सङ्केत देखिएको छ।
आयोजना लम्बिँदा खर्च पनि बढ्दै गएको छ। स्थानीयवासीले यथाशीघ्र निर्माण कार्य अघि बढाउन माग गर्दै आएका छन् भने सम्बन्धित निकायले बाँकी खण्डको समाधानका लागि छलफल जारी रहेको जनाएको छ।
ठेकेदारको अटेरी, आयोजनाको कमजोरी र सरकारी संयन्त्रको बेवास्ताले इटहरीको विकास यात्रा बन्धक बनेको छ । स्थानीय तह, आयोजना कार्यालय र ठेकेदार बिचको समन्वय विहीनता झनै भयावह बन्ने सङ्केत देखिएको छ।
अब प्रश्न उठेको छ, ‘यो पीडाको जवाफ कसले दिने ?’ सहरले जवाफ खोजिरहेको छ, ‘विकासको गतिमा ‘ब्रेक लगाउनेहरू जिम्मेवार बन्ने कि नागरिक सधैँ पीडामा रहने ?’ र सुन्दर हुने सपना देखेका थियौँ । तर, अहिले त झन् जीवन नै कष्टकर भएको छ ।’
प्रतिक्रिया