म्याग्दी । खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, म्याग्दीले गत आर्थिक वर्ष २०८१/०८२ मा खानेपानी, सिँचाइ, नदी नियन्त्रण र ऊर्जासम्बन्धी ६९ वटा योजना कार्यान्वयन गरेको छ ।
कूल रु १३ करोड ९९ लाख आठ हजार बजेट विनियोजन भएकामा रु १३ करोड १९ लाख ९२ हजार खर्च भएको कार्यालयले जनाएको छ । डिभिजन प्रमुख झलकमोहन ओझाले खानेपानी, सिँचाइ, नदी नियन्त्रण र ऊर्जासम्बन्धी प्रदेशका ६७ मध्ये ६४ र सङ्घीय सशर्तका पाँच वटा योजना कार्यान्वयन भएको जानकारी दिए ।
छब्बीस वटा स्रोत सुनिश्चितता भएका, २८ वटा क्रमागत र १८ वटा सालबसाली योजना थिए । खानेपानीका १७, सिँचाइ र नदी नियन्त्रणका छ÷छ वटा योजना, ऊर्जा र अध्ययन सर्वेक्षणको एकरएक वटा योजना सम्पन्न भएका छन् ।
डिभिजनले सञ्चालन गरेका खानेपानी योजनाबाट एक हजार २८३ वटा धारा निर्माण भएकामा ९३१ वटा धारामा मिटर जडान गरेर खानेपानी वितरण भएको छ । तीन हजार ११९ मिटर मुख्य, १०६ किलोमिटर शाखा पाइपलाइन, चार हजार ७२ घनमिटर क्षमताका २२ वटा रिजर्भ ट्याङ्की र २७७ वटा अन्य संरचना निर्माण भएको छ ।
कार्यालयले सञ्चालन गरेका सिँचाइ आयोजनाबाट ५२ हेक्टर क्षेत्रफल जमिनमा सिँचाइ सुविधा विस्तार र ७० हेक्टरमा स्तरोन्नति भएको छ । छ किलोमिटर पक्की नहर, छ दशमलव ११ किलोमिटर पाइपलाइन विस्तार, पाँच वटा बाँध र ४७ वटा सिँचाइका संरचना निर्माण भएको छ ।
नदी नियन्त्रण योजनामार्फत बाढी र कटानको जोखिममा रहेका विभिन्न छ वटा योजनामार्फत ४० मिटर पक्की पर्खाल, २५० मिटर ग्याबियन पर्खाल भएको छ । रघुगङ्गा–१ बेगमा बेगमा ३०० थान ग्याबियन पर्खाल निर्माण गरेर पहिरो रोकथाम गरिएको जनाइएको छ ।
नदी तथा पहिरो नियन्त्रण योजनाबाट ११० घरपरिवार लाभान्वित र २.५ हेक्टर जमिन उकास गरिएको कार्यालय प्रमुख ओझाले बताउनुभयो । यसैगरी ११४ घरमा जडान भएका सौर्य ऊर्जाको मर्मत गरिएको छ ।
प्रतिक्रिया