बागमतीका मेयर थापा गैरकानुनी सम्पत्ति आर्जनमा दोषी ठहर, एक वर्ष कैद तीन करोड ४५ लाख जरिवाना

बुधबार, २१ साउन २०८२

सर्लाही : सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापा गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा दोषी ठहर भएका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १६ महिनाअघि दायर गरेको मुद्दामा विशेष अदालतले बुधवार आंशिक दोष सिद्ध ठहर गर्दै थापालाई एक वर्ष कैद र तीन करोड ४५ लाख जरिवाना गर्ने फैसला सुनाएको हो।

साथै सो बराबरको सम्पत्ति जफत गरिने अदालतको आदेश छ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू मुरारीबाबु श्रेष्ठ तथा विदुर कोइरालाको इजलासले थापालाई गैरकानुनी सम्पत्ति आर्जन र हानि–नोक्सानीसम्बन्धी भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो।

गैरकानुनी सम्पत्तिको मुद्दामा फैसला भइसकेको छ भने हानि–नोक्सानीसम्बन्धी मुद्दामा २९ साउनमा सजाय सुनाइने अदालतले जनाएको छ।

अख्तियारको अभियोगअनुसार थापाले पाँच करोड ३३ लाख ५३ हजार रुपैयाँ बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेका थिए।

अनुसन्धानमा उनले सार्वजनिक सेवामा कार्यरत रहँदा वैधानिक स्रोत देखाउन नसकेको सम्पत्ति आफ्नी पत्नी रेश्मीकुमारी घिमिरे थापा, भाइ रामकुमार थापा र भाइ बुहारी द्वारिका राउतको नाममा विभिन्न बैङ्क खातामा मौज्दात रकम राखेको, घरजग्गा खरिद र विभिन्न कम्पनीमा लगानी गरेको पुष्टि भएको थियो।

अख्तियारले गरेको वित्तीय विश्लेषण अनुसार, मेयर थापाको आम्दानी सात करोड ८६ लाख ५० हजार रुपैयाँ देखिएको थियो भने सोही अवधिमा खर्च तथा लगानी १३ करोड २० लाख रुपैयाँ पुगेको थियो।

यसै आधारमा पाँच करोड ३३ लाख रुपैयाँ बराबरको सम्पत्ति ऋणात्मक देखिएको भन्दै उनीमाथि मुद्दा दायर गरिएको थियो।

हानि–नोक्सानीसम्बन्धी मुद्दामा थापासँगै विमलकुमार पोखरेल र सागर पौडेल दोषी ठहर भएका छन् भने शिलाकुमारी मोक्तान, विश्वराज पोखरेल र मेथुर चौधरीलाई सफाइ दिइएको छ।

अदालतको पछिल्लो फैसला अनुसार, भ्रष्टाचारको दायरामा परेका जनप्रतिनिधिहरूमा थापा पछिल्लो समय दोषी ठहर हुने व्यक्ति बन्न पुगेका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार