बाढीपीडितको उद्धार र राहत वितरणमा महानगरको सक्रियता

सोमबार, २० असोज २०८२

विराटनगर : विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले बाढीपीडितलाई राहत वितरणमा कुनै कमी हुन नदिने गरी कार्य गरिरहेको बताएका छन् । 

कोइरालाले सोमबार बिहानैदेखि विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरुलाई महानगरमा बोलाएर सहयोगको आग्रह गरेका थिए । सामाजिक संघसंसस्थाका प्रतिनिधिहरुसँगको छलफलमा मेयर कोइरालाले महानगरले बाढीपीडितको उद्धार र राहत वितरणलाई प्रभावकारी रुपमा कार्य गरिरहेको उल्लेख गरे । महानगरको समन्वयमा सोमबार बिहानको खाना अग्रवाल सेवा समितिले उपलब्ध गराएको छ ।

मेयर कोइरालाको पहलमामा आज बेलुकाको खाना राउण्ड टेवलले उपलब्ध गराउने भएको छ । कोइरालाले रेडक्रसलगायत अन्य विभिन्न संघसंस्थाका प्रतिनिधिहरुसँग समेत छलफल गरी सहयोगका लागि सहजीकरण गरेका छन् । रेडक्रसले त्रिपाल र ओछ्याउनका लागि म्याट्रेस उपलब्ध गराउने भएको छ । मेयर कोइरालाले महानगरको सम्बन्धित  शाखा र महाशाखालाई पूर्ण क्षमतामा बाढीपीडितको उद्धार र राहतमा खटाइएको जानकारी गराए । 

यसैबीच, विराटनगर महानगरपालिकाले अग्रवाल सेवा समितिको सहयोगमा विराटनगर–१२ स्थित सम्पन्न बस्तीका बाढीपीडितलाई खाद्यन्न वितरण गरेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरीको सहयोगमा महानगर प्रहरीले हिजो उनीहरुलाई उद्धार गरी बखरी आधारभूत विद्यालयमा राखेको छ । उद्धार गरिएका करिब ३ सय जनालाई आज बिहानको खाना महानगरले खुवाएको हो ।

मेयर कोइरालाको समन्वयमा अग्रवाल सेवा समाजले उपलब्ध गराएको खाना नगर प्रहरीका प्रमुख राजन पौडेल, बखरी प्रहरी चौकीका इन्चार्ज वरिष्ठ सई प्रवीण भट्टराई, नेपाली सेनालगायतले वितरण गरेका थिए । मेयर कोइरालाले विभिन्न सामाजिक संघसंस्थासित समन्वय गरेर नगर प्रहरीमार्फत राहत वितरणलाई तीव्रता दिएको मेयर कोइरालाको सचिवालयले जनाएको छ । 
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार