सुनसरी : वर्षायाम सकिए पनि आरिघोप्टे वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव ५७ वर्षयताकै तेस्रो उच्च स्तरमा पुगेको छ।
आइतबार दिउँसो ४ बजे गरिएको मापन अनुसार कोशी ब्यारेज नियन्त्रण कक्षले पाँच लाख ३३ हजार ५४० क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरेको जनाएको छ।
पानीको बहाव अझै बढ्दै गए छ लाख क्युसेक पुग्न सक्ने अनुमान गरिएको छ। शनिवार बिहानदेखि पहाडी क्षेत्रमा लगातार वर्षा भएपछि सप्तकोशी नदीमा शनिवार साँझदेखि नै पानीको स्तर तीव्र रूपमा बढेको थियो।
पानीको चाप अत्यधिक भएपछि कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएका छन्।
गत वर्ष असोज १२ गते पाँच लाख ९५ हजार ८३० क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरिएको थियो, जुन सन् १९६८ यताकै दोस्रो उच्च बाढी मानिएको थियो।
यो वर्ष भने ५७ वर्षयताकै तेस्रो ठूलो बाढी मापन भएको सम्पर्क तथा भू–आर्जन कार्यालय विराटनगरले जनाएको छ।
कोशी ब्यारेजका सम्पर्क तथा भूआर्जन अधिकृत चैतन्यप्रसाद सिटौलाका अनुसार नौ लाख क्युसेक पानीको चाप थाम्न सक्ने ब्यारेजका सबै ढोका खोलिएका छन् र सुरक्षाका कारण आवतजावत पूर्ण रूपमा रोकिएको छ।
उनका अनुसार सन् १९६८ अक्टोबर ५ मा सप्तकोशीमा सात लाख ८८ हजार दुई सय क्युसेक पानी बगेको थियो।
हाल पूर्वी तटबन्धको राजाबास, प्रकाशपुर, मधुवन लगायत क्षेत्रमा तत्काल कुनै खतरा नभएको सिटौलाले बताए।
आवश्यक पूर्वतयारी गरिएकाले अहिले सम्म कोशीले पूर्वी स्परमा कुनै क्षति पुर्याएको छैन। तर, नदी आसपासका बस्तीहरूलाई सतर्क रहन आग्रह गरिएको छ।
सुनकोशी, दुधकोशी, इन्द्रावती, तामाकोशी, अरुण, तमोर र लिखु नदीको पानी मिसिएर सप्तकोशी बनेको हो, जसको जलसतह अहिले पनि उच्च स्तरमा रहेको अधिकारीहरूले बताएका छन्।
(समाचार गोरखापत्र अनलाइनबाट साभार गरिएको हो ।)
प्रतिक्रिया