काठमाडौं : गत भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिलाई नेपाल सरकारले घाइते परिचयपत्र वितरण गरेको छ ।
आइतबार तीन जना घाइतेहरुलाई राष्ट्रिय ट्रमा सेन्टरमा परिचयपत्र वितरण गरिएको हो ।
घाइते परिचयपत्र वितरणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता मुक्तिराम रिजालले हालसम्म ५६ जना घाइतेलाई परिचयपत्र वितरण गरिएको जानकारी दिए ।
‘अस्पतालमा उपचाररत, घरमै बेड रेस्टमा रहेका र आउन सक्ने अवस्थाका आन्दोलनकारीहरुलाई परिचयपत्र वितरण गरेका छौं,’ रिजालले भने, ‘सबैलाई गरेर ५६ जनालाई अहिलेसम्म नेपाल सरकारको निर्णय भए अनुसार २० हजार रुपैयाँ राहत र घाइते परिचयपत्र वितरण गरेका छौं । आइतबार ट्रमा सेन्टरमा तीन जनालाई घाइते परिचयपत्र वितरण गर्यौं ।’
उनका अनुसार आइतबार मात्र ट्रमा सेन्टरमा थप तीन जनालाई घाइते परिचयपत्र वितरण गरिएको छ । यस्तै, अन्य घाइतेहरुले जानकारी गराएअनुसार उनीहरुलाई पनि चाँडै कार्ड वितरण गर्ने तयारी भइरहेको छ ।
सरकारले आन्दोलनका क्रममा घाइते भएकाहरुको उपचार, राहत र पहिचानका लागि परिचयपत्र वितरण थालेको हो । जेनजी घाइते कार्ड पाएपछि घाइतेहरुले अन्तरिम सरकारले सोचे अनुसार काम गर्न नसकेको दुखेसो व्यक्त गरे । उनीहरुले देशभर सयौं घाइतेहरु उपचाररत रहेपनि सरकारले ध्यान नदिएको बताए ।
जेनजी घाइते कार्ड वितरणमा जेनजी डाक्टर जगत विकले समन्वय गरिरहेका छन् । उनले आफूले नै कार्डको अवधारणा ल्याएको दाबी समेत गरे ।
प्रतिक्रिया