काठमाडौं : बंगालको खाडीबाट विकसित न्यून चापीय प्रणालीका कारण गत असोज १७ गते साँझदेखि निरन्तर सक्रिय बनेको मनसुनले देशका पूर्वी र दक्षिणी क्षेत्रहरूमा व्यापक असर पारेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जल तथा मौसम विज्ञान विभागले आइतबार जारी गरेको विज्ञप्तिअनुसार कोशी, मधेश र बागमती प्रदेशमा भारीदेखि अति भारी वर्षा मापन गरिएको छ।
विभागका अनुसार असोज १८ गते बिहानदेखि १९ गते बिहानसम्म २४ घण्टाको अवधिमा रौतहटको महेशपुरमा ३५८ मिमि वर्षा मापन गरिएको छ, जुन यो अवधिको सबैभन्दा बढी हो। इलामको हिमाली गाउँ केन्द्रमा ३३२ मिमि, कन्याम टी स्टेटमा ३१४ मिमि, पर्साको मुडलीमा ३२८ मिमि, र रौतहटकै गौरमा ३१५ मिमि वर्षा मापन भएको छ।
देशभरका २९५ वर्षामापन केन्द्रमध्ये १८६ मा वर्षा मापन भएको र तीमध्ये १०५ केन्द्रमा ५० मिमिभन्दा बढी, २१ केन्द्रमा २०० मिमिभन्दा बढी र ५ केन्द्रमा ३०० मिमिभन्दा बढी वर्षा भएको विभागले जनाएको छ।
नदीहरूमा खतरा तह पार
अविरल वर्षाले कोशी प्रदेशअन्तर्गतका प्रमुख नदीहरू — सप्तकोशी, तमोर, सुनकोशी, अरुण, कन्काई, बुढीखोला, लोहन्द्रा, खेशलैया र विरिङ — मा जलसतह खतरा तह पार गरेको छ।
हाल भने यी सबै नदीहरूमा जलसतह घट्दो क्रममा रहेको बताइएको छ। कोशी नदीको चतरा केन्द्रमा पानीको बहाव खतरा तह नजिक स्थिर अवस्थामा रहेको छ।
विभागका प्रवक्ता विभूति पोखरेलका अनुसार “अविरल वर्षाले केही स्थानमा डुबान र कटानको जोखिम बढाए पनि अहिले स्थिति क्रमशः सामान्य बन्दै गएको” छ। उनले अझै पनि नदी तटीय क्षेत्र र बाढी सम्भावित स्थानहरूमा सतर्कता अपनाउन आग्रह गरेका छन्।
मनसुन कमजोर हुँदै सुधारको संकेत
विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ — “वर्षा गराउने न्यून चापीय प्रणाली नेपालबाट बहिरिएपछि मनसुन कमजोर भइसकेको छ र मौसममा सुधारको संकेत देखिएको छ।”
तर, मनसुन अझै औपचारिक रूपमा नअन्त्य भएकाले विभागले आगामी केही दिन मौसम र बाढीको अवस्थाको नियमित अनुगमन गरिराख्ने जनाएको छ।
विभागले सबै नागरिकलाई आफ्नो वेबसाइट, सामाजिक सञ्जाल, टोल फ्री नम्बर (११५५) तथा SMS सेवा मार्फत अद्यावधिक सूचना प्राप्त गरी सतर्क रहन आग्रह गरेको छ।
प्रतिक्रिया