इटहरी : अविरल वर्षापछि आएको बाढीले सुनसरीको इटहरी औद्योगिक क्षेत्रमा ठूलो क्षति पु¥याएको छ ।
इटहरी उपमहानगरपालिका–१२ स्थित अरिहन्त प्याकेजिङ इन्डस्ट्रीज बाढीको चपेटामा परेर करिब ४० लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ । बूढी गाउँतर्फबाट आएको पानीले फ्याक्ट्रीमा प्रवेश गर्दा पेपर रोल, कार्टुन, मोटर र मेसिनजस्ता मूल्यवान उपकरणमा ठूलो असर परेको छ ।
कम्पनी म्यानेजर डम्बर गौतमका अनुसार,“पहिले कहिल्यै नभएको क्षति आएको छ। उत्पादन पूर्ण रूपमा प्रभावित भएको छ। छेउको बाल्टी फ्याक्ट्रीले पानी खोलिदिँदा स्थिति अझ जटिल बनेको हो।” उनले भने ।
उद्योगमा रहेका उपकरणमा परेको असरले दीर्घकालीन समस्या पनि ल्याउन सक्ने चिन्ता उनले जाहेर गरेका छन् ।
त्यस्तै, सुनसरीको सोनापुरस्थित नेपालकै सबैभन्दा ठूलो जुटमिल – अरिहन्त मल्टी फाइबर्स लिमिटेड पनि बाढीको चपेटामा परेको छ । ट्याङ्ग्रा खोलाको बाढीले उद्योग परिसरमा प्रवेश गर्दा करिब २० करोड रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ ।
उद्योगका प्रमुख कार्यकारी अधिकृत गोविन्द बजगाईँका अनुसार, “तयारी जुट सामग्री, कच्चा पदार्थ र मेशिनरी पूर्ण रूपमा डुबेको छ । करिब ५ हजार मजदुर र कर्मचारी प्रभावित भएका छन्।”
यो उद्योगमा तीन सिफ्टमा २४ सैं घण्टा उत्पादन भइरहेको थियो, तर बाढीले सम्पूर्ण उत्पादन ठप्प पारेको छ ।
सुनसरी–मोरङ औद्योगिक कोरिडोरमा रहेका अन्य साना उद्योग र वरपरका बस्तीहरू पनि डुबानमा परेको जनाइएको छ ।
औद्योगिक कोरिडोरका अधिकांश उद्योगमा बाढीले ठूलो क्षति पु¥याएपछि उद्योगीहरूले करोडौं रुपैयाँको नोक्सानी व्यहोर्नु परेको छ ।
स्थानीय उद्योगीहरूले अब पूर्वतयारी, संरचनात्मक सुरक्षा र बाढी जोखिम व्यवस्थापनमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याएका छन् ।
प्रतिक्रिया