विराटनगर : लगातारको वर्षासँगै मोरङका नदी तथा खोलामा आएको बाढीले दर्जनौँ बस्ती डुबानमा पार्दै सयौं परिवार विस्थापित भएका छन्। बाढीको प्रभाव विराटनगर, सुनवर्षी र उर्लावारी–रतुवामाई क्षेत्रमा सबैभन्दा बढी देखिएको छ।
विराटनगर महानगरपालिका–१२ को सम्पन्न बस्तीमा ७५ घरका ३५० जनालाई सुरक्षित स्थलमा सारिएको छ। उनीहरूलाई बखरी र दरैया आधारभूत विद्यालयमा अस्थायी आश्रय दिइएको छ। विराटनगर–६ का केही घर डुबानमा परेपछि स्थानीयलाई अन्य सुरक्षित स्थानमा सारिएको छ।
सुकुम्बासी बस्ती (वडा–८) मा सिंघिया खोलाको बाढीले ११ परिवार विस्थापित बनाएको छ।
सुनवर्षी नगरपालिका–३ बाहुनटोलमा बक्राहा खोलाको बाँध कटिँदा ६० घर डुबानमा परेको छ। वडा–६ मा पनि बक्राहा खोलाले बाँध भत्काएको र तत्काल मर्मत कार्य भइरहेको छ।
उर्लावारी–९ मा रतुवा खोलाको बाढीले २० परिवार विस्थापित बनाएको छ। रतुवामाई–५ मा कट्नु खोला पसेर ६ परिवार, महाराजथानमा बक्राहा खोलाको बाढीले ९ परिवार, र मुसरभिट्टामा ३० परिवार विस्थापित भएका छन्।
प्रतिक्रिया