इटहरी : सुनसरी जिल्लाका अधिकांश स्थानमा पानी मानव बस्तीमा पसेर जलमग्न बनेपछि स्थानीयलाई धमाधम ‘सेफ साइट’ मा सार्ने कार्य सुरु गरिएको छ ।
आइतबार साँझ इनरुवाका वडा नं. ४, ५, ९ र १० का बस्तीहरूमा पानी पसेपछि स्थानीय बासिन्दालाई उद्धार गरी सुरक्षित स्थानमा राख्न थालिएको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी योगराज खतिवडाका अनुसार निरन्तर उद्धार कार्य भइरहेको छ तर हालसम्म कति जनालाई ‘सेफ साइट’ मा राखिएको हो भन्ने यकिन तथ्याङ्क भने उपलब्ध हुन सकेको छैन ।
उनका अनुसार भोक्राहा नरसिंह–५ का ३०० भन्दा बढी घर र बराहक्षेत्र–७ का करिब १६० घरका बासिन्दालाई समेत ‘सेफ साइट’ मा सार्ने काम भइरहेको छ ।
“जिल्लाभरका धेरैजसो बस्तीमा आँगनमा पानी पसेको छ, जसका कारण प्रभावितलाई सुरक्षित स्थानमा सार्ने र सतर्क रहन आग्रह गरिएको छ,” डिएसपी खतिवडाले भने ।
उनका अनुसार प्रहरीको टोली विभिन्न स्थानमा पुगेर उद्धार कार्यमा खटिएको छ । निरन्तर वर्षा जारी रहेकाले सञ्चार सम्पर्क सहज नहुँदा यकिन तथ्याङ्क सङ्कलनमा कठिनाइ भएको उनले बताए ।
लगातारको वर्षाले धरान, इटहरी, दुहबी, गढी, बर्जू, देवानगञ्ज, रामधुनी, हरिनगर र कोशी गाउँपालिकाका धेरैजसो बस्तीमा घर–आँगनमा पानी पसेर समस्या उत्पन्न भएको छ । सुरक्षा निकायले रातिभर सतर्क रहन सबैलाई आग्रह गरेको छ ।
प्रतिक्रिया