काठमाडौँ । अबिरल वर्षा र पहिरोका कारण इलाम, रौतहट, खोटाङ, उदयपुर लगायतका जिल्लामा भएको मानवीय क्षतिप्रति नेपाली काँग्रेसले गहिरो दु:ख व्यक्त गरेको छ । पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिवंगतको आत्माको शान्ति कामना गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।
पार्टीले थप मानवीय क्षति हुन नदिन राज्य र स्थानीय स्वयंसेवकहरूमा उच्च सतर्कता अपनाउन अपील गरेको छ । विपद्का समयमा राज्यको सूचना पालना, आफू सुरक्षित राख्ने र अरुको सुरक्षामा सहयोग गर्ने जिम्मेवारी सबैको कर्तव्य भएको उनको भनाइ छ ।
पौडेलले सबै राजनैतिक दल, भ्रातृ संस्थाहरू, स्थानीय निकायका जनप्रतिनिधि र स्वयंसेवकहरूलाई उद्धार, राहत र पुनःस्थापनामा सक्रिय सहभागी हुन आह्वान गरेका छन् ।
यसैबीच, नेपाली काँग्रेस केन्द्रीय कार्यालय, सानेपामा आज भ्रातृ संस्थाका अध्यक्ष र प्रतिनिधिहरूको ‘विपद केन्द्रित विशेष बैठक’ बसेको थियो । बैठकमा महामन्त्री विश्वप्रकाश शर्माको उपस्थितिमा भ्रातृ संस्थामा आवद्ध युवाहरूलाई स्वयंसेवी समूहमार्फत विपद् व्यवस्थापनमा परिचालित गर्ने निर्णय भएको छ ।
पार्टीले भनेको छ कि ठाउँठाउँमा भ्रातृ संस्थाका स्वयंसेवकहरू परिचालित भइसकेका छन् र थप सक्रियताका लागि अपील जारी छ।
प्रतिक्रिया