सुनसरीमा तिहारका लागि राखेको बङ्गुर बाढीले बगाउँदा ८० लाख बढीको क्षति

आइतबार, १९ असोज २०८२

रामधुनी (सुनसरी) : अविरल वर्षापछि आएको बाढीले सुनसरीको रामधुनी नगरपालिका–८ डुम्राहास्थित झुम्का अर्गानिक कृषि फर्ममा ठूलो क्षति पुर्‍याएको छ । बाढीमा परेर फर्मका करिब २ सयभन्दा बढी बङ्गुर बगाएका छन् ।

फर्मका सञ्चालक भरत कार्कीका अनुसार बच्चा बङ्गुरमध्ये ४० वटा पानीमा डुबेर मरेका छन् भने मासु उत्पादनका लागि तयारी अवस्थामा रहेका ९० वटा बङ्गुर पनि बगाएका छन् ।

तिहारको समयमा बजारमा बिक्रीका लागि निकाल्ने तयारीमा रहेका बङ्गुर समेत बगाएपछि ठूलो आर्थिक क्षति भएको उनले बताए ।

“पानी एक्कासि फर्ममा पस्यो, केहीलाई मात्र जोगाउन सक्यौँ, बाँकी सबै बगायो,” कार्कीले भने । उनका अनुसार बाढीका कारण ८० लाख रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ ।

पानीको बहाव अत्यधिक भएकाले बाँकी ७० माउ बङ्गुर समेत वाल नाघेर भागेका थिए ।

सात वर्षदेखि बङ्गुर पालन व्यवसायमा संलग्न कार्कीलाई सन् २०७८ सालमा पनि यस्तै बाढीले ठूलो क्षति पुर्‍याएको थियो ।

पटक–पटक बाढीको जोखिम खेप्दै पनि उनले पशुपालन व्यवसायलाई निरन्तरता दिँदै आएका छन् ।

स्थानीयवासीको अनुसार डुम्राहा क्षेत्रमा नदीको पानीको सतह बढ्दा यस पटक धेरै पशुपालक कृषक प्रभावित भएका छन् । 

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार