काठमाडौँ । २९ जिल्लाका करिब साढे २७ हजार गाई भैँसीमा लम्पी स्किन रोगको सङ्क्रमण देखिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उपलब्ध गराएको गत असार ६ देखि साउन २० गते सम्मको तथ्याङ्क अनुसार सुदूरपश्चिम बाहेकका सबै प्रदेशका पशुमा लम्पी स्किन रोगको सङ्क्रमण देखिएको हो ।
रोगका कारण सबैभन्दा बढी कोशी प्रदेश प्रभावित भएको छ । कोशीका ११ जिल्लामा २२ हजार १२२ वटा गाई भैँसीमा रोगको सङ्क्रमण देखिएको छ भने हाल सम्म ६३७ पशुको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मधेश प्रदेशका ८ जिल्लामा ४ हजार ४९४ पशुमा सङ्क्रमण देखिएको छ भने १७९ पशुको मृत्यु भएको छ । बागमतीका ५ जिल्लामा ७९३ पशुमा रोगको सङ्क्रमण पुष्टि भएको र ३० वटा पशुको मृत्यु भएको छ ।
त्यसैगरी, गण्डकीको एउटा जिल्लामा ७ वटा पशुमा मात्रै हाल सम्म रोग पुष्टि भएको छ भने लुम्बिनीका ३ जिल्लामा १६ वटा पशुमा रोग पुष्टि भएको छ र कर्णालीमा १ जिल्ला मात्रै रोगका कारण प्रभावित भएको छ । यी प्रदेशमा हाल सम्म रोगका कारण गाई भैँसीको मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।
सरकारले हाल सम्म ५ लाख ६१ हजार ७५१ पशुलाई लम्पी स्किन विरुद्धको खोप लगाएको छ ।
प्रतिक्रिया