काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सहयोग परियोजना एमसीसी (मिलेनियम च्यालेञ्ज कर्पोरेशन) आफ्नो पार्टीको दबाबमा व्याख्यात्मक टिप्पणीसहित पारित भएको बताएका छन्।
बुधबार काठमाडौंको पेरिसडाँडास्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले निर्मल लामा स्मृति प्रतिष्ठानका अध्यक्ष लीलामणि पोखरेलद्वारा लिखित ‘नेपालमा एमसिसी’ पुस्तक विमोचन गर्दै यस्तो दाबी गरेका हुन्।
“जनताका अगाडि सर्वसम्मत रूपमा व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित भएको हो,” अध्यक्ष दाहालले भने, “त्यो आफैंमा राष्ट्रिय स्वाधीनताका लागि आन्दोलनको ढोका बनेको छ। माओवादीले छाडेको भए त्यो जस्ताको तस्तै पारित हुने स्थिति थियो, त्यसो हुन दिएनौं।”
उनले अन्तरराष्ट्रिय कानुन तथा भियना कन्भेन्सनको सन्दर्भ उल्लेख गर्दै व्याख्यात्मक टिप्पणीले नेपालका पक्षमा बोल्ने ठाउँ सुरक्षित भएको जिकिर गरे। अध्यक्ष दाहालका अनुसार व्याख्यात्मक टिप्पणीसहितको पारित प्रक्रिया माओवादीको निरन्तर प्रयासको परिणाम हो।
पुस्तकका लेखक तथा माओवादी नेता लीलामणि पोखरेलले एमसीसी पास गर्नुपरेको बाध्यात्मक परिस्थितिबारे प्रस्ट्याउँदै सुरक्षा चुनौतीदेखि अन्य समग्र पक्षलाई समेटेर पुस्तक तयार गरिएको जानकारी दिए।
प्रतिक्रिया