विद्यार्थी राजनीति हुँदै मुख्यमन्त्रीसम्म : ८ मन्त्रीसहित बानियाँको नेतृत्वमा बागमतीको बागडोर

बुधबार, २१ साउन २०८२

मकवानपुर : बागमती प्रदेशको मुख्यमन्त्रीमा इन्द्रबहादुर बानियाँ नियुक्त भएका छन् । नेपाली कांग्रेस प्रदेश सभापति बानियाँ कांग्रेस र नेकपा एमालेको समर्थनमा मङ्गलवार मुख्यमन्त्री नियुक्त भएका हुन् ।

प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बानियाँलाई मङ्गलवार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । उनले मुख्यमन्त्री पदको शपथ लिए लगत्तै मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

प्रदेश प्रमुख देवकोटाले उनलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । मुख्यमन्त्री नियुक्त र शपथसँगै बानियाँले आठ जना मन्त्री नियुक्त गरेका छन् ।

जसमा काँग्रेसका दुई जना र एमालेका ६ जना छन् । नियुक्त आठ मन्त्रीलाई प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले शपथग्रहण गराए ।

एमालेका मधुसूदन पौडेल कृषि तथा पशुपन्छी विकासमन्त्री, डा. दिनेशचन्द्र देवकोटा भौतिक पूर्वाधार विकासमन्त्री, जयराम थापा श्रम, रोजगार तथा यातायातमन्त्री, भरतबहादुर केसी वन तथा वातावरणमन्त्री, किरण थापा स्वास्थ्यमन्त्री र बिन्दु श्रेष्ठ उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री बनेका छन् ।

एमालेबाट मन्त्री भएकाहरूमा थापा यसअघिको सरकारमा समेत सहभागी थिए भने अन्य पाँच जना नयाँ अनुहार हुन् ।

काङ्ग्रेसबाट भने बानियाँले कृष्णकुमार तामाङलाई खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री र शिवराज अधिकारीलाई बिना विभागीय मन्त्री नियुक्त गरेका छन् ।

प्रदेशका १४ वटा मन्त्रालयमध्ये मुख्यमन्त्रीबाहेक काँग्रेसको भागमा परेका सात मन्त्रालयमा दुई जना मन्त्री नियुक्त गरी बाँकी पाँचवटा मन्त्रालयको जिम्मेवारी भने मुख्यमन्त्री बानियाँले आफैँ मातहत राखेका छन् ।

बानियाँ बागमतीको छैटौँ मुख्यमन्त्री हुन् । मकवानपुरबाट मुख्यमन्त्री हुने बानियाँ दोस्रो हुन् । प्रदेशका संस्थापक मुख्यमन्त्री डोरमणि पौड्याल पनि मकवानपुरका हुन् ।

काङ्ग्रेसकै बहादुरसिंह लामाले आइतबार मुख्यमन्त्रीबाट राजीनामा घोषणा गरेर सोमबार प्रदेश प्रमुखको कार्यालयमा राजीनामा पठाएका थिए । त्यसपछि प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि मङ्गलवार दिउँसो २ बजेभित्र दाबी पेस गर्न आह्वान गरेका थिए ।

कुनै पनि दलले बहुमत नपाएका कारण धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभाको सदस्यलाई बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

बानियाँले काँग्रेसका ३७ र सत्ता साझेदार दल नेकपा एमालेका २७ सांसद गरी ६४ जना सांसदको समर्थनसहित दाबी पेस गरेका थिए । १ सय १० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५६ जना सांसदको समर्थन आवश्यक पर्छ ।

सातवटा राजनीतिक दलको प्रतिनिधित्व रहेको प्रदेशसभामा माओवादी केन्द्रका २१, राप्रपाका १३, नेकपा एकीकृत समाजवादीका ७, नेमकिपाका तीन जना र हाम्रो नेपाली पार्टीका दुई जना सांसद छन् ।

बागमतीमा १ वर्षअघि सरकार गठन हुँदा एमाले र काङ्ग्रेसबिच २०–२० महिना सरकारको नेतृत्व गर्ने सहमति भएको थियो । सहमतिअनुसार बानियाँले अबको आठ महिना प्रदेश सरकारको नेतृत्वमा रही २०८२ फागुनसम्ममा एमालेलाई नेतृत्व हस्तान्तरण गर्नुपर्नेछ ।

बानियाँभन्दा अगाडि डोरमणि पौड्याल, अष्टलक्ष्मी शाक्य, राजेद्रप्रसाद पाण्डे, शालिकराम जमरकट्टेल र बहादुरसिंह लामा प्रदेश मुख्यमन्त्री भइसकेका छन् ।

को हुन् बाँनिया ?

मकवानपुरको साबिक हर्नामाडी गाविस–४ दियावाती, हाल हेटौडा उपमहानगरपालिका– १८ मा जन्मिएका बानियाँ विगत ३७ वर्षदेखि राजनीतिमा क्रियाशील छन् । २०४४ सालदेखि राजनीतिमा होमिएका ५५ वर्षीय बानियाँले नेपाल विद्यार्थी सङ्घबाट राजनीति सुरु गरेका हुन् ।

नेपाल विद्यार्थी सङ्घ, तरुण दल, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य हुँदै उनी २०७३ सालमा कांग्रेस मकवानपुर सभापति भएका थिए ।

२०६४ सालमा संविधानसभा सदस्यमा मकवानपुर क्षेत्र नम्बर १ मा प्रत्यक्षतर्फ उम्मेदवार बनेका ५२ वर्षीय बानियाँले कम्युनिस्टहरूको लाल किल्ला भनेर चिनिने मकवानपुरमा कम्युनिस्ट किल्ला भत्काएर २०७० सालको संविधानसभा निर्वाचनमा संविधानसभा सदस्य विजयी भएदेखि निरन्तर सांसद छन् ।

बानियाँ मकवानपुरबाट सांसद जित्ने पहिलो कांग्रेस नेता हुन् । उनी ४ मङ्सिर २०७० मा भएको संविधानसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

बानियाँ २०७३ सालमै सङ्घीय गृहराज्यमन्त्री र संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री भइसकेका छन् । २०७३ फागुनमा गृहराज्यमन्त्री भएका उनी त्यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री थिए ।

२०७४ सालबाट सङ्घीयता कार्यान्वयनमा गएसँगै बानियाँ प्रदेशसभाको निर्वाचनमा उम्मेदवार भएका थिए । २०७४ सालपछि बानियाँ नेपाली कांग्रेस संसदीय दलको नेता थिए । अघिल्लो कार्यकालमै मुख्यमन्त्री हुन खोजेका बानियाँ असफल भएका थिए ।

प्रदेशसभाको दोस्रो कार्यकालमा दलको नेताबाट पराजित भएका बानियाँ साढे २ वर्षपछि दलको नेताबाट बहादुरसिंह लामालाई हटाएर आफैँ बने । १३ पुस २०७९ मा दलको नेताका लागि भएको निर्वाचनमा लामासँग बानियाँ ५ मतले पराजित भएका थिए ।

९ साउन २०८२ मा मुख्यमन्त्रीसमेत रहेका दल नेता लामाविरुद्ध बानियाँकै नेतृत्वमा २१ सांसदले अविश्वास प्रस्ताव दर्ता गराएका थिए । १३ साउनमा अविश्वासको प्रस्तावमाथि मत विभाजन हुँदा अविश्वास प्रस्तावको पक्षमा २२ र विपक्षमा १५ मत परेको थियो ।

विद्यार्थी जीवन सकिएपछि तरुण दलमार्फत राजनीति गरेका बानियाँ २०५५ सालमा नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल तरुण दल मकवानपुर जिल्ला सचिवको जिम्मेवारीमा रहे । उनले २०५६ सालमा नेपाल तरुण दल मकवानपुरको नेतृत्वसमेत सम्हाले । २०५६ सालदेखि निरन्तर पार्टी महासमिति सदस्यको भूमिकामा उनी रहेका छन् ।

बानियाँ २०५८ सालमा नेपाली कांग्रेस मकवानपुर जिल्ला सदस्यको भूमिकामा रहे । पार्टी राजनीतिसँगै जनप्रतिनिधिका रूपमा निर्वाचित हुन पार्टीले पठाएसँगै उनी २०६४ सालमा संविधानसभा सदस्यमा प्रत्यक्षतर्फको उम्मेदवार बने । त्यतिबेला उनी निर्वाचनमा पराजित भए ।

प्रतिक्रिया

पत्रपत्रिकाबाट
लेखकको बारेमा
पत्रपत्रिकाबाट

सम्बन्धित समाचार