काठमाडौँ : लगातार दुई दिनदेखि परेको अविरल वर्षाले देशभर ५३ जनाको ज्यान गएको छ भने सात जना अझै बेपत्ता रहेका छन्। सबैभन्दा बढी मानवीय क्षति इलाममा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार इलाम विपत्तिको केन्द्र (इपिसेन्टर) बनेको छ, जहाँ रौतहटपछि दोस्रो धेरै वर्षा भएको छ।
इलाम जिल्लामै पहिरोका कारण ३७ जनाको मृत्यु भएको छ। फाकफोकथुम गाउँपालिका–३ रातमाटेका २८ वर्षीय सुरेश लिम्बुको पहिरोमा परेर मृत्यु भएको छ।
सूर्योदय नगरपालिका–१ मानेभञ्याङकी ६५ वर्षीया मनमाया क्षेत्री र १० वर्षीया रश्मिका क्षेत्री बाढीले बगाउँदा ज्यान गएको छ। दोलखाका ४५ वर्षीय दीप बस्नेत, ४४ वर्षीया भवानी बस्नेत र १२ वर्षीया दिव्या बस्नेतको पनि पहिरोमा परेर मृत्यु भएको छ।
इलाम नगरपालिका–६ का २३ वर्षीय समीर देउजाली, २३ वर्षीय प्रवीण तामाङ र २३ वर्षीय बिराज पाख्न तामाङको पनि मृत्यु भएको छ। झापाको अर्जुनधारा नगरपालिका–६ की ३२ वर्षीया अनु तामाङ र ३ वर्षीय आवास दनुवार बाढीले बगाउँदा मृत्यु भएको छ।
इलामकै माई नगरपालिका–५ की ८ वर्षीया प्रिन्सिखा मगरको पनि पहिरोमा परेर ज्यान गएको छ।
देउमाई नगरपालिका–५ झारेका २२ वर्षीय रोशन लिम्बु र २२ वर्षीया बेबिसा राई, सोही वडाको ढुसेनीका ३० वर्षीय दीपक लिम्बु, २७ वर्षीया ऋषिका लिम्बु र १० वर्षीया दिपिस्का लिम्बुको पनि मृत्यु भएको छ। त्यस्तै, देउमाई नगरपालिका–३ लक्ष्मीबाटेका २८ वर्षीय कृष्ण मगरको पनि पहिरोमा मृत्यु भएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ।
पाँचथरको फात्तेपका ९ वर्षीय सौजन लिम्बु र ११ वर्षीय सौगात लिम्बु, माङसेबुङ गाउँपालिका–१ पार्टी गाउँकी ५७ वर्षीया कृष्णमाया लिम्बु र ५० वर्षीया माया लिम्बु, साथै मिक्लाजुङ गाउँपालिका–६ की १७ वर्षीया नेहा राईको पनि मृत्यु भएको सशस्त्र प्रहरीले जनाएको छ।
इलामकै सन्दकपुर गाउँपालिका–१ का ४३ वर्षीय भीमबहादुर राई, ६६ वर्षीया हरिमाया राई, ४७ वर्षीया देवी राई, ५४ वर्षीय शेखर राई, ७४ वर्षीया शारदा सेडाई र ४८ वर्षीया तारादेवी राईको पनि पहिरोमा परेर ज्यान गएको छ। माईजोगमाई गाउँपालिका–६ ओडारेका २८ वर्षीय किरण थेबे, १८ वर्षीया मनमाया थेबे र ३ वर्षीया मुनुसा थेबेको पनि मृत्यु भएको छ।
माईजोगमाई गाउँपालिका–३ प्याङका ८२ वर्षीय बर्मालाल सोङमी, ७० वर्षीया बुद्धमाया सोङमी, ४६ वर्षीय धनबल सोङमी, ४२ वर्षीया सरला सोङमी र १४ वर्षीया प्रकृति सोङमीको पनि मृत्यु भएको छ।
उदयपुरकी ४५ वर्षीया मञ्जु अधिकारी र ३ वर्षीया रेविका राई, पाँचथरका १७ वर्षीय मिकेश नेम्वाङ, ७९ वर्षीया कान्छीमाया सेर्मा, २८ वर्षीया मनीषा कार्की, २९ वर्षीया यूना तामाङ, ३३ वर्षीय धनकुमार चोमजोङ, ३२ वर्षीय अभिषेक लिम्बु, ३३ वर्षीय विनोद लङ्गवा र २१ वर्षीया गीता हाङमको पनि मृत्यु भएको छ।
खोटाङका २१ वर्षीय सुमन विक र ४० वर्षीय राजेश रम्तेल, रौतहटका १६ वर्षीय नवीन यादव, १७ वर्षीय सरोज लेहरी र ७५ वर्षीया पनवा देवी, साथै काभ्रेका ५७ वर्षीया विमला देवी तामाङको समेत मृत्यु भएको सशस्त्र प्रहरीले जनाएको छ।
देशका विभिन्न स्थानमा बाढी र पहिरोका कारण सात जना बेपत्ता भएका छन्। बाराका २१ वर्षीय विक्की गोसाईं टिकटक बनाउने क्रममा बाढीले बगाएर बेपत्ता भएका छन्।
रसुवामा २२ वर्षीय किशन श्रेष्ठ, २० वर्षीया संस्कृति श्रेष्ठ, २५ वर्षीया सङ्गीता श्रेष्ठ र २३ वर्षीय रवि श्रेष्ठ बेपत्ता भएका छन्। इलाममा बाढी–पहिरोमा परि ४८ वर्षीय महेन्द्र लिम्बु हराएका छन् भने काठमाडौँकी २२ वर्षीया रितु रोका मगर पनि बेपत्ता भएकी छन्।
प्रतिक्रिया