चितवन : रातभर बन्द रहेको नारायणगढ–मुग्लिन सडकखण्ड सोमबार बिहानदेखि पुनः सञ्चालनमा आएको छ। लगातारको वर्षाका कारण आइतबार राति विभिन्न स्थानमा सडक अवरुद्ध भएको थियो।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान ६ बजेदेखि सडक पूर्ण रूपमा सुचारु गरिएको हो। सडक खुलाइसकेपछि अहिले सवारीसाधनको आवागमन सहज बनेको प्रहरीले जनाएको छ।
यद्यपि, मुग्लिङतर्फको केन्द्रीय भाग र चार किलो क्षेत्र आसपासका ठाउँमा पहिरो खस्ने जोखिम अझै कायम रहेको बताइएको छ। प्रहरी र सशस्त्र प्रहरीको टोली सडक खण्डभरै तैनाथ रहेर निगरानी गरिरहेका छन्।
सडकमा यातायात खुला भए पनि यात्रु र चालकलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ। मौसम विभागका अनुसार पश्चिम र मध्य पहाडी क्षेत्रमा अझै छिटपुट वर्षा हुने सम्भावना रहेकाले पहिरोको जोखिम यथावत् रहने चेतावनी दिइएको छ।
यसअघि आइतबार राति करिब साढे ९ बजे दुई ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो। सडक डिभिजन कार्यालय, प्रहरी र स्थानीयवासीको सहकार्यमा रातभर मेसिन प्रयोग गरी सडक खुलाइएको हो।
प्रतिक्रिया