इटहरी : श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ)ले देश समृद्ध बनाउन श्रमदान अपरिहार्य रहेको बताएका छन् ।
इटहरी उपमहानगरपालिकामा आयोजित पार्टीको संगठन विस्तार कार्यक्रममा बोल्दै अध्यक्ष राईले नीति निर्माणसँगै श्रम संस्कृति स्थापित नगरेसम्म देशले वास्तविक विकासको बाटो नलिने बताए । लोकतन्त्र, राष्ट्र र राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सबै नागरिक सचेत र एकजुट हुनुपर्नेमा उनले जोड दिए ।
“श्रम, माटो र जनताको प्रत्यक्ष सहभागिताबाट मात्रै दिगो विकास र समृद्धि सम्भव हुन्छ,” अध्यक्ष राईले भने । देशको समृद्धि आपसी एकता र सहकार्यबाट मात्रै हासिल हुने उनको भनाइ थियो ।
अध्यक्ष राईले देश अहिले जलेर खरानी बनेको अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै सबै मिलेर पुनःनिर्माण गर्नुपर्ने बताए । “भावनामा बहकिने होइन, देश र जनताको हितमा काम गर्ने, देश बनाउने र बचाउनेलाई आगामी निर्वाचनमा भोट दिनुस्,” उनले आग्रह गरे ।
आगामी फागुनमा हुने निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्न सरोकारवाला निकायले विशेष योजना बनाएर आवश्यक समन्वय गर्नुपर्ने अध्यक्ष राईले बताए । निर्वाचन नहुँदा लोकतन्त्र अपहरणमा पर्ने खतरा रहेको उल्लेख गर्दै आवधिक निर्वाचन नै लोकतान्त्रिक व्यवस्थाको आधार भएको जनाए ।
भ्रष्टाचार, परम्परागत राजनीति र विदेशी प्रभावप्रति सचेत रहन आग्रह गर्दै अध्यक्ष राईले देश विकासका लागि कलम मात्रै होइन, गैँटी र बेल्चा पनि चलाउनुपर्ने बताए । व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सामूहिक हितका लागि काम गर्ने आफ्नो प्रतिबद्धता रहेको उनले जनाए ।
प्रतिक्रिया