झापा : दमक नगरपालिका–५ लालिगुँरास टोलमा खेलिरहेकी पाँच वर्षीया बालिकाको कानमा लगाएको सुनको रिङ लुटपाट गरेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
हिजाे पुस २४ गते दिउँसो करिब ३ बजे दमक–५ निवासी सुमन लिम्बुको छोरी प्यारोन लिम्बु आफ्नै घरअगाडि बाटोमा खेलिरहेको अवस्थामा अभियुक्तहरूले प्र.१–०१–००१ ह ८३८५ नम्बरको सिटी सफारी प्रयोग गरी बालिकाको कानको सुनको रिङ नेल कटरले काटी लुटपाट गरेका थिए । घटनापछि उनीहरू सोही सिटी सफारीमा फरार भएका थिए ।
घटनापछि इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले आज दिउँसो करिब ४ बजे दमक नगरपालिका–६ वडा कार्यालय अगाडिबाट सिटी सफारीसहित चार जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा झापा, साविक दमक नगरपालिका–८ निवासी अन्दाजी १८ वर्षका संजय माझी, दमक नगरपालिका–७ निवासी अन्दाजी १८ वर्षका निश्चल विश्वकर्मा, साविक दमक नगरपालिका–६ निवासी अन्दाजी ३८ वर्षका मेघराज मेहेत्तर तथा भारतको कलकत्ता स्थायी घर भई हाल दमक नगरपालिका–६ बस्दै आएका अन्दाजी ५३ वर्षका रिटन दास रहेका छन् ।
पक्राउ परेका चारै जनालाई इलाका प्रहरी कार्यालय दमकमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया