विराटनगर : नोबेल शिक्षण अस्पताल आसपास बिरामीको कमजोरीको फाइदा उठाउँदै आएको ठगी नियन्त्रण गर्न प्रशासन कडा रूपमा उत्रिएको छ । बिरामी ठगिएको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय मोरङ र औषधि व्यवस्था विभाग विराटनगरको संयुक्त टोलीले शुक्रबार सघन अनुगमन गर्दै ७ वटा फार्मेसी सिल गरेको छ ।
अस्पताल अगाडि तथा आसपास सञ्चालित १४ वटा फार्मेसीमा गरिएको आकस्मिक अनुगमनका क्रममा कानुनविपरीत औषधि बिक्री, मूल्यमा मनपरी, म्याद गुज्रिएका औषधि राखिएको र चिकित्सकको सिफारिसबिनै औषधि थमाइएका गम्भीर तथ्य फेला परेपछि तत्काल कारबाही गरिएको प्रशासनले जनाएको छ ।
प्रशासनका अनुसार सीताराम, छिन्नमस्ता, धनगढी माई मेडिकल, सुसंस्कृति, गोल्ड, मित्र र आविष्कार फार्मेसी सिलबन्दीमा परेका छन् ।
औषधि व्यवस्था विभाग विराटनगरका सूचना अधिकारी दीपेन्द्र खड्काले बिरामीको स्वास्थ्यसँग प्रत्यक्ष खेलबाड हुने गतिविधि भेटिएपछि कारबाही गर्न बाध्य भएको बताए । “बिना दर्ताका विदेशी औषधि बिक्री, म्याद गुज्रिएका औषधि राख्ने, आवश्यक नपर्ने औषधि जबर्जस्ती बेच्ने र चर्को मूल्य असुल्ने काम पुष्टि भयो,” उनले जानकारी दिए ।
अनुगमनका क्रममा मित्र फार्मेसीले बिरामीलाई आवश्यकता नपर्ने औषधि थमाएर ठगी गरेको प्रमाणसमेत फेला परेको खड्काले जनाए ।
प्रशासनको यो कदमपछि स्थानीयवासी तथा बिरामीका आफन्तहरूले राहत महसुस गरेका छन् । उनीहरूले उपचारकै क्रममा थप आर्थिक र मानसिक पीडा भोग्नुपरेको गुनासो लामो समयदेखि उठ्दै आएको थियो ।
औषधि व्यवस्था विभागले सिल गरिएका फार्मेसी सञ्चालकहरूमाथि औषधि ऐनअनुसार थप अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ ।
प्रतिक्रिया