विराटनगर : लगातारको वर्षाले कोशी प्रदेशका विभिन्न जिल्लामा ठूलो जनधनको क्षति पुर्याएको छ। विशेष गरी इलाम जिल्लामा सबैभन्दा बढी मानवीय क्षति भएको बताइएको छ।
इलामकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार, शनिबार राति सुतिरहेका बासिन्दा विपत्तिको मारमा परे र ३७ जनाले ज्यान गुमाएका छन्। यसका साथै प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार झापा, पाँचथर, मोरङ, उदयपुर र खोटाङमा पनि मृत्युका घटना भएका छन्।
प्रदेशभर अहिलेसम्म ५ हजार ९२५ घरका करिब २६ हजार ९८४ जना विस्थापित भएका प्रहरी तथ्याङ्कले जनाउँछ। धेरै जना घाइतेको उपचार भइरहेको छ भने केही अझै बेपत्ता छन्।
तर, सबैभन्दा बढी क्षति व्यहोरेको प्रदेशकै मुख्यमन्त्री हिक्मतकुमार कार्की विपत्ति निम्तिँदा काठमाडौँमै थिए। प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री तथा प्रदेश सरकारका प्रवक्ता रेवती भण्डारीका अनुसार, प्लेन नचल्दा मुख्यमन्त्री काठमाडौंबाट फर्किन नसकेको बताए।
भण्डारीले भने, “मुख्यमन्त्रीकै निर्देशनअनुसार हामी कार्यरत छौँ। जनप्रतिनिधि जनताकै बीचमा छन् र राहत कार्य तीव्र रूपमा भइरहेको छ।” उनका अनुसार, कोशी प्रदेश सरकारले तत्काल आवश्यक राहत सामग्री प्रभावित जिल्लामा पठाएको छ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासँग समन्वय गरी उद्धार र राहत कार्य सञ्चालन भइरहेको उनले जनाएका छन्।
भण्डारीले थपे, “हाम्रो मन्त्रालयले सबै १४ जिल्लाका विपद् व्यवस्थापन संयन्त्रसँग समन्वय गर्दै काम गरिरहेको छ। अप्रत्याशित क्षति भए पनि हामीले जोखिम क्षेत्रमै केन्द्रित भएर प्रतिकार्य अघि बढाएका छौँ।”
उनका अनुसार, पीडितको विस्तृत विवरण प्राप्त भएपछि राहत वितरण र पुनःस्थापनाका कार्य सुरु गरिनेछ। मन्त्रालयका कर्मचारीहरूलाई मागअनुसार सामग्री पठाउने तयारी अवस्थामा राखिएको उनले बताए।
प्रतिक्रिया